किर्तीमानी आरोही बुढा मगरलाई सम्मान


११ जेठ, काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले उहाँकै कार्यालय सिंहदरबारमा बुधबार कीर्तिमानी आरोही बुढामगरसहित उहाँको टोलीलाई सम्मान गर्नुभएको हो ।
सम्मान गर्दै अध्यक्ष तिमिल्सिनाले बुढामगरले दुबै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर सबैको प्रेरणाको स्रोत भएको बताउनुभयो । उहाँले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“ सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभुषण प्रदान गर्नुगर्छ । उहाँलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ ।”

बुढामगरले सम्मान गरेपछि हिमाल चढ्न शुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै आज सम्मान पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरुलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताउनुभयो । शारीरिक अशक्त भएका व्यक्तिहरूलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बुढामगरको भनाई थियो । उहाँले भन्नुभयो,“ आज सम्मानित हुन पाउँदा निकै खुशी छु । यो मेरो मात्र नभइ सम्पूर्ण अपांगता भएका व्यक्तिको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्नेकुरा यहाँबाट सन्देश गएको छ । पहिला ब्याण्ड हुँदा नेपालमा स्वागत छैन जस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्नेकुराको सन्देश दिएको छ ।आफ्नो आरोहणले नेपालमा भएका र संसारमा अपांग भएका व्यक्तिहरूले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ।’

बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेक्नुभएको हो । यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी(घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गर्नुभएको छ ।
(प्रोस्थेटिक) कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाउनुभएको थियो ।