कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो, ज्यान गुमाउनेको संख्या घट्दो


कञ्चनपुर ।

कञ्चनपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या घटेको छ । मृत्यु हुनेको संख्या घटे पनि सवारी दुर्घटना र गम्भीर घाइत हुनेको संख्या भने ह्वात्तै बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला तीन वर्षमा मृत्यु हुनेको संख्या घटेको हो ।

तीन वर्षमध्ये पछिल्ला दुई वर्षमा दुर्घटनामा मृत्यु हुनेको संख्या बराबर छ । गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनामा परी ३३ जनाको ज्यान गएको छ । अघिल्लो वर्ष ३२ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा ४५ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७५/०७६ देखि गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ज्यान १२ जना कमले ज्यान गुमाएका छन् ।

यस अवधिमा सवारी दुर्घटना र गम्भीर घाइते हुनेको संख्या हवात्तै बढेको छ । गम्भीर घाइते हुनेको संख्या पछिल्ला तीन वर्षमा बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष गम्भीर घाइते हुनेको संख्या चार गुणा बढेको छ । गत वर्ष ८७ र अघिल्लो वर्ष २२ जना गम्भीर घाइते थिए । २०७५र०७६ मा ८ जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनाबाट आव ०७५र०७६ मा १४, ०७६र०७७ मा ११ र ०७७र०७८ मा ६० जना समान्य घाइते भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी दुर्घटना बढेका छन् । गत वर्ष ९७ सवारी दुर्घटना भएका छन् । त्यस अघि अघिल्लो वर्ष दुर्घटनाको संख्या ५४ थियो । तीन वर्ष अघि यो संख्या ६८ थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले सवारी चालकको समान्य कमजोरीले पनि सवारी दुर्घटना हुने गरेको बताए ।

‘सवारी चालक, सवारी साधन, ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था लगायतका धेरै कारणले दुर्घटना हुन्छ’ उनले भने, ‘यसमा पनि चालकले सवारीको लुकिङ्ग ग्लास समेत नहेर्दा पनि दुर्घटना भएका छन् । यस्ता समान्य कमजोरी पनि अहिले दुर्घटनाका कारण बनेका छन् ।’ भट्टले चालकलाई सवारी रुट प्रयोग सम्बन्धी जानकारी नहुँनु पनि दुर्घटनाको कारण देखिएको बताए ।

प्रहरीकाअनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । त्यसमा सबैभन्दा बढी मानिसको ज्यान गएको हो । मोटरसाइलक चढ्नेको संख्या बर्सेनी बढ्दो क्रममा छ । सवारी दुर्घटनामा अटो र इ–रिक्सा पनि थपिएका छन् । बढ्दो सवारी साधनसँगै संचालनमा आएका अटो र इ–रिक्साल पनि दुर्घटना गराएका छन् । ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रणका लागि ट्राफिक नियम पालना, सवारी जाँच, सडकमा सुरक्षा उपकरण राख्ने र सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गरेको छ ।