माधव नेपालसहित ११ सांसदसँग स्पष्टिकरण सोध्ने एमालेको निर्णय


काठमाडौं ।
नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल समुहका ११ जना सांसदसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
शनिवार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद रहेका छन् ।

माधव नेपाल पक्षका २६ जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमालेले कारवाहीको नीति लिएको हो । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको हित विपरीत हस्ताक्षर गर्ने ११ जना नेतामाथि स्पष्टिकरण सोध्ने निर्णय गरेको बताउनुभयो ।

कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको उहाँले जानकारी दिए ।
ज्ञवालीका अनुसार सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ । लिखित स्पष्टिकण सोधिएका नेताहरुमा झलनाथ खनाल, माधव कुमार नेपाल, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी र कल्याणी खड्का रहेका छन् ।

यसअघि स्पष्टिकीरण सोधिएका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन । नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्ड र घनश्याम भुसालमाथि यसअघि गरिएको कारवाही एमालेले फिर्ता लिएको थियो । तर नेपाल पक्षले कांग्रेसलाई सहयोग गरेको भन्दै पुनः नेपाल र रावलसहितका नेताहरुमाथि स्पष्टिकरण सोधिएको छ ।