कोरोना कहर : दिनरात नभनेर सम्हालिँदै बिरामीको उपचार


भजनी : कैलालीको टीकापुर अस्पतालमा वैशाख ८ गते एकजना बिरामी उपचारका लागि आकस्मिक कक्षमा भर्ना भए । कोरोना फोकल पर्सन डा। रमेशप्रसाद उपाध्यायले बिरामीमा फरक स्वास्थ्य समस्या देखिएपछि एक्सरे गरेर हेर्दा बिरामीको छाती र फोक्सोमा जटिलता देखियो । बिरामीलाई भर्ना गरेर उपचार थालियो तर कोरोना जाँच भएन । वैशाख १२ गते उस्तै स्वास्थ्य समस्या भएका बिरामी थपिए । त्यो क्रम बढ्यो र १६ गते एकको ज्यान गयो । उपचारलाई आउने बिरामीको सङ्ख्या र मृत्यु हुने क्रम बढ्यो । चिकित्सकहरु सजग भए । नागरिकमा त्रास बढ्यो । बिरामीले अस्पतालको कम्पाउण्ड भरियो । एकैदिन अस्पतालमा एउटै स्वास्थ्य समस्याका ६० बिरामी भर्ना भए ।

वैशाख २६ मा ६ जनाले ज्यान गुमाए । स्थिति जटिल बन्दै गयो । सीमित स्वास्थ्यकर्मीले धान्न मुश्किल भयो । त्यसमाथि अक्सिजनको चरम अभाव । भोलिपल्ट ८ जनाले ज्यान गुमाए । उपचाररत बिरामीको डा. उपाध्यायको निगरानीमा उपचार हुँदै थियो । “म कत्ति आत्तिइन, किनकी मैले यसअघि यस्तै अवस्था भोगिसकेका थिए”, डा। उपाध्यायले भने, “टीकापुर आउनुभन्दा पहिले कोरोना पहिलो लहरमा काठमाण्डौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था मैले राम्रोसँग नियालेको थिए ।

त्यो अनुभवसहित पूरै टिमले हिम्मत जुटायौं र स्थिति सम्हालिन पुग्यो ।” उपाध्यायसँगै डा. संवाद खरेल र डा. सन्दिप यादव थिए। यो टिम वैशाख दोस्रो साताबाट पूरै समय अस्पतालमा छ । उनीहरु दिनरात नभनेर बिरामीको उपचारमा संलग्न छन् । “कति दिन सम्म त हामी सुत्न पाएनौं, त्यो बेला हाम्रा लागि निकै चुनौतीको बेला थियो”, डा यादवले भने, “ त्यो बेला हाम्रा लागि सुत्नु भन्दा बिरामीको ज्यान जोगाउनु महत्त्वपूर्ण थियो । त्यसमा सबैको सान्त्वनाका कारण पनि हामिमा हौसला थपिएको हो ।”

अस्पतालमा स्टाफ नर्सको नेतृत्व नर्सिङ अधिकृत कमला बिष्टले सम्हाल्नुभयो । कोभिड जनरल वार्डमा चार नर्स खटिएपनि महामारीको खासै अनुभव थिएन । बिष्टले भने, “शुरुको अवस्था निकै चुनौतीपूर्ण रहयो । जेनतेन स्थितिलाई नियन्त्रणमा लिन हामी सफल भयौ ।” अहिले कोभिड जनरल वार्ड र उच्च उपचार कक्षमा २४ स्टाफ नर्स कार्यरत छन । प्रसुति वार्ड लगायतमा कार्यरत स्टाफ नर्सलाई पनि कोभिड वार्डमै परिचालन गरिएको छ । बिरामीको चाप अनुसार यो सङ्ख्या प्रयाप्त नभएको बताउदै नर्सिङ अधिकृत बिष्टले जतिसक्दो अभावको महसुश हुन नदिएको बताए ।