चिसो बढेपछि विद्यालय बन्द


बलेवा । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए ।

“हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय ४५ दिन बन्द हुन्छ”, अदैले भन्नुभयो, “यो वर्ष फागुन २ गतेसम्मका लागि बन्द गरेका छौँ ।” चिसोका कारण पश्चिम बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर छ । खोला तथा खोल्सा र धाराको पानी जम्न थालेपछि यहाँका स्थानीयलाई खानेपानीको समेत समस्या हुने गरेको अदैले बताए ।

ढोरपाटन शिकार अरक्षण क्षेत्रमा बस्ने स्थानीय घुम्ती बसाई सर्ने गरेका छन् । वर्षाका समयमा खेतीपाती, भेडा च्याङ्ग्रा तथा गाईभैँसी लिएर लेक गएका स्थानीय चिसोमा बेंसी झरेका छन् । उनीहरु ढोरपाटनकै वडा नं ८ र ९ को बोङ्गेदोभान, बोवाङ क्षेत्रमा झरेका हुन् । लेकमा रहेका घरगोठ र पशु चौपायको हेरचाहका लागि बसेकाको जनजीवन कष्टकर रहेको नगरप्रमुख देवकुमार नेपाली बताए ।

पानी नपरेकाले यसपाली ढोरपाटन क्षेत्रमा अहिलेसम्म हिमपात भएको छैन । तुसारो र सिरेठोले बिहान र बेलुकी कठिन बनाउने गरेको छ । बिहानको तुसारोले खोला र धाराको पानी जम्ने गरेको प्रधानाध्यापक अदै बताउँछन् ।

बागलुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ । जमेको खोलामा तस्बिर खिचाउन तस्बिरका पारखी खोला छेउ पुग्ने गरेका छन् ।