गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनुपर्छ: उपप्रम लिङ्देन


माघ ११, काठमाडौं

उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले उक्त धारणा व्यक्त गर्र्नु भएको हो ।  महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको समस्याले निर्माण कार्य ठप्प रहेको बताउनुभयो ।

निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम बीस प्रतिशत मोबिलाइजेशन पेश्की व्यवसायीले पाउनु पर्ने अध्यक्ष सिंहले बताउनुभयो । व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएकोप्रति अध्यक्ष सिंहले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण गराउनुभयो । निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि मात्र नयाँ आयोजनाको ठेक्का लगाउन र पाँच प्याकेजको व्यवस्थालाई अझ व्यवस्थित बनाउन अध्यक्ष सिंहले आग्रह गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.) ले व्यवसायीहरूले भुक्तानी पाएमा त्यसको फाइदा राज्यलाई नै हुने तर्क राख्नुभयो । महासंघका महासचिव रोशन दाहालले रकमान्तर गरेर भएपनि भुक्तानीको समस्या समाधान गर्नुपर्ने बताउनुभयो । महासंघ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री लिङ्देनको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ । महासंघ प्रतिनिधिमण्डलमा महासंघ अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल, महासंघ कार्य समिति सदस्यहरू दानबहादुर खड्का, उज्जवल गौतम, यज्ञबहादुर खत्री, सुशील कुमार श्रेष्ठ र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहनु भएको थियो ।