राष्ट्रपति पद मेरो लागि होइन, हामी मिलेर राष्ट्रपतिको गरिमा बढाउनु पर्छः डा. सन्दुक रुइत


४ माघ, काठमाडौं ।
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रूइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन्। उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरू धेरै रहेको बताएका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएको बताउदै राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरू रहेको पनि बताए।

हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि उनले आज पत्रकार सम्मेलन गरेका हुन् । उनले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्ट्याम्प नै किन नहोस्। हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ। भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ। तर यो मेरो लागि होइन। मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु।’

डा. रूइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले आफ्नो जीवनकै ठूलो कमाइका रूपमा इशा अवार्डलाई हेरेको बताउदै राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताए। उनले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर विस्तार गर्न आवश्यक रहेको पनि बताए। डा. रुइत १३ करोडको इसा अवार्ड प्राप्त गरेका छन् ।