निर्माण व्यवसायको बारेमा तथ्य बुझेर मात्र समाचार दिन अध्यक्ष सिंहको आग्रह


८ असोज, काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सञ्चारजगतले निर्माण व्यवसायको बारेमा यर्थाथ बुझेर मात्र नागरिकलाई सुसुचित गर्न आग्रह गरेका छन् । उनले पूर्वाधार निर्माणको क्षेत्रमा निर्माण व्यवसायीको मात्र दोष नरहेको बताउदै यर्थाथ बुझेर मात्र नागरिकलाई समाचार दिन आग्रह गरेका हुन् ।
नीगिततदेखि कानुनी विषयको कारणले पनि निर्माण व्यवसायीले लक्ष्य अनुसारको काम गर्न नसकिरहेको बताउदै अध्यक्ष सिंहले यर्थाथ विषयले मात्र नागरिकलाई सुसुचित गराउनु पर्नेमा जोड दिए ।
नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा राजधानीमा आयोजित सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै सरोकारवालाहरूले यसमा पूर्वाधार पत्रकारहरूको पनि विशेष भूमिका औल्याएका छन्
कार्यक्रमकासंघीय सांसद् तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले निर्माण उद्योगमा धेरै समस्या रहेको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राष्ट्र निर्माणमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको र यस क्षेत्रमा कलम चलाउँदा पत्रकार जिम्मेवार बन्नुपर्ने बताए ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र निर्माण व्यवसाय भएकाले यसलाई अगाडि बढाउन पत्रकार जिम्मेवार बन्नुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डीं), महासचिव रोशन दाहाल लगायतले निर्माण उद्योगका विषयमा वास्तविकता भन्दा बाहिरका समाचार बढी आउने गरेको तर्फ संचारकर्मीहरूको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा पूर्वाधारविज्ञ प्राध्यापक डा. राजेन्द्र अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सह–सचिव चक्रवती कण्ठ, प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यपत्र प्रस्तुत गर्दै क्रमशः निर्माण व्यवसाय, निर्माण उद्योगसँग सम्बन्धित् प्रचलित ऐन कानून तथा पत्रकार आचार संहितका विविध पक्षबारे चर्चा गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सौजन्यमा भएको कार्यक्रममा पूर्वाधार क्षेत्रमा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।