शहरी विकास मन्त्रालयका नयाँ इन्जिनियरलाई प्रशिक्षण


६ असोज, काठमाडौं ।

लोक सेवा आयोगबाट शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागमा सिफारिस भएर आएका सिभिल तथा आर्किटेक्ट उपसमूहका ४१ जना नयाँ इन्जिनियरलाई प्रशिक्षण कार्यक्रम शुरू भएको छ । सहरी विकास मन्त्रालय अन्र्तगत रहेको राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्रको समन्वयमा नयाँ इन्जिनियरहरुलाई प्रशिक्षण कार्यक्रम राखिएको हो । ललितपुरको एक होटलमा सोमवारबाट मंगलवारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम शुक्रवारसम्म चल्नेछ । नयाँ इन्जिनियरहरुको लागि सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागका सह–सचिव र उपसचिवहरुले फरक–फरक विषयमा विभागको काम र कर्तव्यको बारेमा प्रशिक्षित गरेका छन् ।
उदघाटनको पहिलो दिन सहरी विकास मन्त्री मेटमणि चौधरीले उदघाटन गरेको प्रशिक्षण कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशकद्धय दीलिपशेखर श्रेष्ठ,नारायण भण्डारी, सहरी विकास मन्त्रालयका सह–सचिव प्रदिप परियारले प्रशिक्षण दिएका थिए ।
उपमहानिर्देशक श्रेष्ठले विभागको कार्यक्षेत्र तथा काम गर्दा आउने समस्या समाधान गर्न इन्जिनियरले खेल्नु पर्ने भूमिकाको विषयमा प्रशिक्षत गरेका थिए । उपमहानिर्देशक भण्डारीले सहरी विकास विभागले स्थापनाकालदेखि हालसम्म गर्दै आएको काम ऐन नियमको बारेमा जानकारी दिएका थिए ।
मन्त्रालयका सह–सचिव प्रदिप परियारले सार्वजनिक प्रशासनको आवश्यकता र महत्वको विषयमा प्रकाश पार्दै नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।