कर्णालीमा ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुँदै


नेपालभूमि, वीरेन्द्रनगर ।

कर्णाली प्रदेश सरकारले ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालनको तयारी गरेको छ । कर्णालीका नागरिकका गुनासा तथा समस्या सुन्नका लागि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ एप्स र हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको छ । कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनका लागि उक्त सेवा सञ्चालन गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उक्त एप्स निर्माणको अन्तिम चरणमा रहेको कार्यालयले जनाएको छ ।

यसका लागि हाम्रा कुरा मुख्यमन्त्री एप्समा कुनै गुनासा तथा समस्या भए पठाउन सकिनेछ भने हटलाइन सेवा १०९६ मा फोन गरेर पनि टिपाउन सकिन्छ । कर्णाली सरकारले विद्युतीय गुनासो व्यवस्थापन निर्देशिका जारी गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको उक्त निर्देशिका अनुसार नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य लिइएको सचिव आनन्द सारुले जानकारी दिए । यसमा नागरिकले विभिन्न माध्यमबाट गुुनासो टिपाउन सक्ने उनले बताए । यसले सरकारका काम थप प्रभावकारी बन्नमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।