बन्चरेडाँडा ल्याण्डफिल साइटमा मापदण्ड विपरीत फोहोर विर्सजन (भिडियोसहित)


२७ साउन, काठमाडौं ।
काठमाडौं उपत्यकाको फोहोर झण्डै ५० बर्ष व्यवस्थापन गर्ने योजनाको साथ सञ्चालनमा ल्याइएको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत फोहोर विर्सजन गरेको पाइएको छ । कामपाले आधुनिक र व्यवस्थित रुपमा निर्माण गरिएको ल्याण्डफिल साइटबाट ग्यास निस्कासन हुने पाइप पुरेर मापदण्ड विपरीत फोहोर विर्सजनको काम सुरु गरेको हो ।
शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको बन्चरेडाँडा ल्याण्डाफिल आयोजनाले दुई वटा सेल मध्य पहिलो सेल निर्माण सम्पन्न गरेर फोहोर विर्सजन गर्नका लागि कामपालाई हस्तान्तरण गरिसकेको छ । सेल वानमा फोहोर विर्सजन गर्ने क्रममा कामपाले ल्याण्डफिल साइटमा राखिएका ग्यास निस्किने पाइपलाई फोहोरसँग पुरेको छ ।

आयोजनाले फोहोर व्यवस्थापनको मापदण्डसहित हस्तान्तरण गरेपनि कामपाले भने ग्यास निस्कासन हुने पाइनलाई नै पुरेर फोहोरमाथि माटो विछ्याएको हो । ल्याण्डफिलमा विर्सजन गरिएको फोहोरबाट उत्पादन हुने ग्यासको निस्कासन गर्नको लागि आयोजनाले तल्लो सतहबाटै ठाउँठाउँमा प्वाल पारेर ग्यास जाने पाइप ठड्याएर निर्माण गरेको थियो । तर कामपाले फोहोरको सतह थपिएसँगै उक्त पाइपलाई सुरक्षित गर्न ड्रम र पाइप थप्नु पर्नेमा सजिलोको लागि पाइप नै पुर्ने काम गरेको छ ।
बन्चरेडाँडा ल्याण्डफिल आयोजनाका प्रमुख रविन्द्र बोहोराले बन्चरेडाँडामा मापदण्ड विपरीत फोहोर विर्सजन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकारले ठूलो लगानी गरेर निर्माण गरेको संरचनाको दिगोपनको लागि हामीले बनाएको मापदण्ड अनुसार फोहोर विर्सजन हुन सकिरहेको छैन, यसमा सुधार गर्नुको विकल्प छैन् ।’

ग्यास निस्कास पाइपलाई फोहोरको सतहबाट माथिसम्म नै राख्नु पर्छ, अहिले सेल वानको फोहोर विर्सजन गर्दा मापदण्डको पालना भएको पाइएको छैन, ल्याण्डफिल साइटको दीर्घकालीन व्यवस्थापनको लागि कामपाले ध्यान दिन जरुरी छ, उहाँले भन्नुभयो ।
सरकारले अर्ब लगानीमा निर्माण गरेको बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल टुको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले केही समयभित्र सेल टु पनि कामपालाई हस्तान्तरण गर्ने तयारी गरेको छ । आयोजनाले फोहोर विर्सजन स्थलबाट उत्पादन भएर दुई वटा टयाङकीमा जम्मा भएको लिचडलाई सेल वानमा पम्प गरेर खसाल्ने प्रक्रिया पनि अघि बढाएको छ । ल्याण्डफिल साइटबाट उत्पादन हुने लिचडलाई खोलामा जान रोक्नबाट आयोजनाले आयोजना स्थलमा दुई वटा ठूलठूला लिचड जम्मा हुने पोखरी निर्माण गरेर सञ्चालमा ल्याएको छ ।