शहरी विकास तथा भवन निर्माण विभागका ४ आयोजना प्रमुख पुरस्कृत


नेपालभूमि, काठमाडौं ।

शहरी विकास मन्त्रालय अन्तर्गत रहेका विभिन्न २१ वटा आयोजनामध्येबाट ४ जना आयोजना प्रमुख पुरस्कृत भएका छन् । वार्षिक कार्य प्रगति, बेरुजु फछ्र्यौट लगायतका विभिन्न सूचकांकमा उत्कृष्ट अंंक ल्याउने आयोजना प्रमुखलाई शहरी विकास मन्त्री मेटमणि चौधरीले शुक्रबार पुरस्कृत गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक त्रय दिलिप भण्डारी, चक्रवर्ती कंठ र सुरेन्द्रमोहन श्रेष्ठ सम्मिलित मूल्यांकन टोलीले उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पुरस्कृत हुनेहरुमा सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख प्रकाश अर्याल, रामेछापका आयोजना प्रमुख सुरेश वाग्ले, क्षेत्रीय शहरी विकास आयोजना, क्षेत्रीय आयोजना कार्यान्वयन इकाई कैलालीका आयोजना प्रमुख प्रविन शाह र संघीय आयोजना कार्यान्वयन इकाई, धनुषाका आयोजना प्रमुख प्रदीप खनाल रहेका हुन् ।

क्रमशः चितवन आयोजना कार्यालयले ८३.६ प्रतिशत, कैलालीले ८०.२ प्रतिशत, धनुषाले ८६.७५ प्रतिशत र रामेछापले ६० प्रतिशत पुँजीगत खर्चमा प्रगति हासिल गरेका छन् ।

रामेछाप आयोजनालाई भने बेरुजु फछ्यौट र मन्त्रालयसँगको निरन्तर समन्वयका गरेर काम गरेको मूल्यांकनको आधारमा पुरस्कृत गर्ने निर्णय गरिएकाे छनोट टोलीका सदस्य तथा विभागका उपमहानिर्देशक चक्रवर्ती कंठले बताए ।

आयोजना प्रमुखको हैसियतमा आर्थिक वर्ष २०७८७९ मा भएको वित्तीय प्रगति, बेरुजु फछ्र्यौटमा देखिएको प्रगति, रुग्ण आयोजना घटाउन गरिएका प्रयास तथा कार्य क्षेत्रमा गरेका नवीनतम गतिविधिहरु समेतको आधारमा पुरस्कार तथा सम्मानका लागि उनीहरुलाई छनोट गरिएको छनोट उपमहानिर्देशक कंठले जानकारी दिए ।