पशुपति क्षेत्रलाई हरियाली बनाउन ‘एक भक्त एक वृक्षरोपण कार्यक्रम सुरु


१२ साउन, काठमाडौं ।
विश्व सम्पदा सुचीमा सुचिकृत धार्मिक एवं ऐतिहासिक सम्पदाको रुपमा रहेको पशुपति क्षेत्रलाई हरियाली प्रबद्र्धन गर्ने मुख्य उदेश्यको सहित एक भक्त एक वृक्षरोपण कार्यक्रमको सुरुवात भएको छ । विहिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियानको सुरु गरेका हुन् । उनले पशुपति क्षेत्रमा रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको सुरुवात गरेका हुन् । विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे छ ।

कार्यक्रममा पशुपति क्षेत्र विकास काषका सदस्य सचिव डा. मिलन कुमार थापाले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्न हरियाली प्रद्र्धनको कार्यक्रम अघि बढाएको बताए । उनले भने,‘पशुपति क्षेत्रभित्र खाली रहेको क्षेत्रलाई वृक्षरोपण गरेर हरियाली बनाउने हाम्रो योजना छ, यसमा सबैको साथ र सहयोगको खाँचो रहेको छ ।’ रोपेका बिरुवाहरूको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा काममा कोषले ध्यान दिने बताउदै पाशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाउने योजना रहेको बताए ।

कार्यक्रममा खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलिलाले १ लाख रुद्राक्षको विरुवा उपलब्ध गराउने घोषणा गरेका छन् । कार्यक्रममा सरकारका मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साह तथा कोषका पदाधिकारीहरुले वृक्षरोपण गरेका थिए । कोषले वृक्षारोपण कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने नीति लिएको छ । विरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ । कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षरोपण अभियानलाई समावेश गरेको छ । कोषले विश्वरुपा, मृगस्थलि, श्लेषमान्तक, भण्डारखाल लगायतको क्षेत्रमा वृक्षरोपणको कामलाई अघि बढाउने भएको छ ।