जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै


२५ असार, जनकपुर ।
मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख ६६ हजार ४३९ रुपैयाँ लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क निर्माण मार्फत ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य जनकपुरधामलाई व्यवस्थित बनाउने उदेश्य लिइएको छ । जनकपुरमा हाल आन्तरिकसँगै छिमेकी देश भारतबाट समेत दैनिक हजारौको संख्यामा यात्रुहरु आवत जावत गर्दै आएका छन् ।

जनकपुरकै महत्वपूर्ण आयोजनको रुपमा निर्माण हुन लागेको बसपार्कको शहरी विकास मन्त्री मेटमणि चौधरीले एक कार्यक्रमकोबीच शिलान्यास गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्झौता बमोजिम १५ महिनाभित्र बसपार्क निर्माण सम्पन्न गर्न निर्देशन दिए । उनले भने,‘पर्यटकीय क्षेत्र जनकपुरमा बन्न लागेको बसपार्क तोकिएकै समयमा सम्पन्न हुनुपर्छ, बसपार्क निर्माणपछि जनकपुरको सुन्दरता थप्ने काम हुनेछ ।

कार्यक्रममा शहरी विकास सचिव डा. रमेशप्रसाद सिंहले जनकपुरमा आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण हुनु खुसीको विषय भएको बताए । उनले देशको प्रमुख चार सहर मध्य जनकपुर पनि एक रहेको बताउदै जकपुर विस्तारै विकसित हुँदै गएको बताए । विगत दस बर्षको अवधिलाई हेर्दा पूर्वाधार निर्माणदेखि फोहोर व्यवस्थापनमा राम्रो काम भएको बताउदै सचिव सिंहले बसपार्क निर्माण भएपछि यातायात सञ्चालनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने,‘जनकपुर जानकी माताको जन्मभूमि हो, यस क्षेत्रको विकास गर्न एकजुट भएर लाग्नु पर्छ ।’

बसपार्कको हालको अवस्था ज्यादै काजुक रहेकाले जकपुरधाम क्षेत्रको बढदो शहरीकरणलाई समेत मध्यनजर गरेर सार्वजनिक सरोकारको शहरी पूर्वाधार अन्तर्गत बसपार्क बन्ने भएको हो । बसपार्क निर्माणका लागि आयोजनाले श्री नागार्जुन÷हेम÷सावित्री जेभीसँग १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।

संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका आयोजना प्रमुख प्रदीप खनालले आधुनिक र व्यवस्थित रुपमा बसपार्क निर्माण निर्माण गर्न लागिएको बताए । आयोजनाले सरोकारवाला पक्षसँग समन्वय गरेर जनकपुरको लागि आवश्यक पर्ने बसपार्क निर्माणको काम अघि बढाएको बताउदै तोकिएकै समयसीमाभित्र सम्पन्न गराएर सञ्चालनमा ल्याइने बताए ।

बसपार्क परिसरमा बस पार्किङ स्थलसँगै सार्वजनिक शौचालय, टिकट काउण्टर तथा चमेणा गृह, तीन वटा प्रतिक्षालय, वृत्तारोपन,२५ वटा कार तथा ५० मोटरसाइकल अस्थायी पार्किङ, १२५ स्थायी पार्किङ क्षेत्र, १.५ मिटर चौडाई र २२०० मिटर लामो फुटपाथ, आरसीसी पार्किङ क्षेत्र, आगमन प्रस्थानका लागि अस्फाल्ट सडक पहिलो चरणमा निर्माण हुनेछ भने दोस्रो चरणमा पसल, रेष्टुरेन्ट, कार्यालय, आगन्तुक आवाससहितको बहउदेश्य ४ तले भवन, ग्यारेज र वर्कशप निर्माण हुनेछ । बसपार्क जनकपुरधाम उप–महानगरपालिकाका–२३ मा रहेका ४ विघा जग्गामा निर्माण हुनेछ । आयोजनाले बसपार्क निर्माण गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

बसपार्क शिलान्यास कार्यक्रममा मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महनो, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह र माँ जानकी जनकपुरधाम यातायात प्रा.लिका अध्यक्ष मनोज चौधरी लगायतको सहभागीता रहेको थियो ।