बन्चरेडाडाँको लिचेटबारे मेयर बालेनको बेवास्ता : भारतबाट विज्ञ डाके, आफू कार्यक्रममै गएनन्


काठमाडौं, १८ असार ।

शहरी विकास मन्त्रालयले बन्चरेडाडाँ ल्याण्डफिल साइटबाट बगेको लिचेट प्रशोधनपश्चात् प्रयोग गर्न सकिने जनाएको छ ।
शनिवार शहरी विकास तथा भवन निर्माण महाशाखामा आयोजित एक कार्यक्रमका बीच बन्चरेडाडाँ ल्याण्डफिल साइटबाट संकलित लिचेर्ट प्रशोधनमार्फत् प्रयोग गर्न सकिने गरी परीक्षण सफल भएको जनाएको हो ।

मन्त्रालयद्वारा निर्माण गरिएको बन्चरेडाडाँ ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न थालेपछि २० हजार घनमिटर क्षमताको ट्यांकी लिचेट भरिएर ओभर फ्लो हुन थालेको छ । सो लिचेटलाई सदुपयोग गर्न सकिने गरी प्रविधिको प्रदर्शनी गरिएको बन्चरेडाडाँ ल्याण्डफिल साइटका आयोजना निर्देशक रवीन्द्र बोहराले बताउनुभयो ।

प्रशोधनपछि उक्त लिचेट बगैचा चार्न, गाडी सफा गर्न तथा माछा पालनका लागि समेत प्रयोग गर्न सकिने निर्देशक बोहराले जानकारी दिनुभयो । निर्देशक बोहराले भन्नुभयो, “बन्चरेडाडाँ ल्याण्डफिल साइटमा फोहोर फाल्न थालेपछि त्यहाँ उत्पन्न लिचेटले २० हजार घनमिटर ट्यांकी भरिएको छ । यसलाई प्रशोधित गरी सदुपयोग गर्न सकिन्छ भनेर प्रदर्शनी आयोजना गरिएको हो ।”

बिहीबार शहरी विकास मन्त्री मेटमणि चौधरी, निमित्त सचिव पद्मकुमार मैनाली लगायतको उपस्थितिमा सो प्रविधिको बारे जानकारी लिँदै मेयर बालेन्द्र साहले प्रदर्शनी आयोजना गर्न आग्रह गरेका थिए । यद्यपि उनी प्रदर्शनीमा उपस्थित भएनन् । प्रदर्शनी कार्यक्रम बेवास्ता गर्दै उनले सो प्रविधिप्रति भने अनिच्छा देखाएका छन् । उक्त प्रविधि प्रयोग गर्ने वा नगर्ने भन्नेबारे काठमाडौं महानगरपालिकाले निर्णय गर्ने भएकाले मेयर नै उपस्थित नहुँदा लिचेटको सदुपयोग नहुने देखिएको छ ।

प्रविधि प्रदर्शनी गर्न लगाएर आफै नआउँदा उक्त प्रविधिको कार्यान्वयन नै अलपत्र परेको हो । उक्त प्रविधि प्रदर्शनीका लागि भारतको चेन्नेइबाट विज्ञ टोली समेत डाकिएको थियो । उक्त प्रविधि प्रयोग महानगरले लिचेट व्यवस्थापन गरेको अवस्थामा आर्थिक दायित्व दायित्व महानगरले नै व्यहोर्नु पर्ने छ ।

यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न लगाएर आफै उपस्थित नहुँदा मन्त्रालय र विज्ञले भने चित्त दुखाएका छन् । मेयरले बालेन्द्रले कार्यक्रम आयोजना गर्न लगाएर झण्डै ६ घण्टा कुर्दा पनि पनि नआएको मन्त्रालयको टोली र विज्ञ टोली खिन्न बनेको छ ।

स्वास्थ्य, वातावरण र जलवायु फाउन्डेसनले बन्चरेडाडाँको लिचेट संकट र प्रशोधन गरी प्रयोग गर्न योग्य बनाएको हो । फाउन्डेसनका निर्देशक महेश नकर्मीले यसअघि संस्थाले थुप्रै अस्पतालको लिचेट समेत प्रशोधन गरी प्रयोगयोग्य बनाइसकेको जानकारी दिए । उनले काठमाडौं महानगरपालिकाले प्रविधि प्रयोग गर्न चाहे नेपालमा मेशिन भित्र्याइने जनाकारी दिनुभयो ।