संस्कृति र पर्यटन प्रवर्द्धनमा अर्जुनलालको लोभलाग्दो सक्रियता (भिडियो)


नेपालभूमि, काठमाडौं । 

अर्जुनलाल प्रधान, नेपालकै पर्यटकीय हब ठमेल क्षेत्रको एक परिचित नाम हो । समाज सेवा र राजनीतिमासमेत सक्रिय अर्जुनलाल एक व्यवसायी हुन् ।

उनी हमेसा जीवनमा केही फरक र केही नयाँ कुरा गर्न रुचाउँछन् । अर्जुनलाल नेपालमा साइक्लिङ खेलको नामी खेलाडी समेत हुन् । अर्जुनलाल : नाम एक काम अनेक ।  उनको संस्कृतिप्रतिको मोह र पर्यटनप्रतिको लगावका लोभलाग्दो छ ।

उनले वैशाखमा भारतीय गायक पवनदीप राजनलाई नुवाकोट पुर्‍याएका थिए । अघिल्लो कार्यकालमा ठमेल पर्यटन परिषद्को अध्यक्षका प्रत्याशी समेत रहेका उनी पराजित भए ।  यद्यपि उनको सक्रियता ठमेल क्षेत्रको विकास र उन्नयनमा अनवरत रूपमा अघि बढिरहेको छ ।

इण्डियन आइडल पवनदीप राजनको नेपाल भ्रमण र नाटेश्वरी दर्शन 

भारतीय चर्चित गायन रियलिटी शो इण्डियन आइडलको १२औं संस्करण विजेता पवनदीप राजन नेपाल आउने कुरा चलिरहेको थियो । काठमाडौंमा उनको स्वागतको भव्य तयारी भइरहेको थियो ।

ठमेलस्थित लर्ड अफ ड्रिंक अर्थात् एलओडीमा हुने भनिएको कार्यक्रमको टिकट केही महिना अघि नै बुकिङ भइसके पनि त्यतिबेला कोरोना महामारीको बढ्दो संक्रमणका कारण उनी आउन पाएका थिएनन् । बहुप्रतिक्षित शोको तयारी तीव्र भइरहेको बारे अर्जुनलाल जानकार थिए ।

हरेक समय केही नयाँ गर्न चाहने अर्जुनलालको दिमागमा यस पटक नयाँ आइडिया फुर्‍यो । पवनदीपको नेपाल भ्रमणलाई सदुपयोग गर्दै नेपाली संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने आइडिया । उनले आयोजकसँग आफ्नो योजना सुनाए ।

पवनदीप नेपाल आउँदा हेलिकप्टर चढाएर नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित नाटेश्वरी मन्दिर दर्शन गर्न लैजाने र उनीमार्फत नाटेश्वरीको महिमा अन्तरािष्ट्रयस्तरमा पुर्‍याउने । आयोजकले सहमति प्रदान गरेपछि उनी हौसिए ।

रातारात गाउँमा हेलिप्याड निर्माण गर्न लगाए । काठमाडौंबाट दुई वटा हेलिकप्टरमार्फत पवनदीपसहितको टोली नाटेश्वरीमा अवतरण भयो । त्यहाँ पुग्दा नाटेश्वरीको दर्शन गरेर पवदनदीप मख्ख थिए ।

भिरको बाटोमा ढोलक बजाएर उकालो चढिरहेका पवनदीप देखेर अर्जुनलाल दंग थिए, गाउँ उत्सवमय थियो । पवनदीप मन्दिर पुगेर दर्शन गरेर फेरि हेलिकप्टरमार्फत काठमाडौं फर्किन लाग्दा अर्जुनलाल पत्रकारसँग भन्दै थिए, ‘यो सबैको साझा पहलले गर्दा मेरो योजना सफल भयो, अब नाटेश्वरीलाई सबैतिर चिनाउने जिम्मा तपाईंहरुको ।’

मन्दिर दर्शन गरेर काठमाडौं फर्किनै लाग्दा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पवनदीपले भने, ‘पहाडमा सुन्दर ठाउँ देखेँ ।’ नाटेश्वरीको दर्शन गर्दा खुशी महसुस भएको बताउँदै आफूले नाटेश्वरीबारे सक्दो प्रचारप्रसार गर्ने समेत प्रतिबद्धता जनाए ।

इण्डियन आइडल पवनदीप राजनको नेपाल भ्रमण र नाटेश्वरी दर्शनबारे व्यवसायी प्रधानसँगको गरिएको भिडियो कुराकानी । 

 
(नोट : पवनदीप राजनको नाटेश्वरी भ्रमणबारे हामीले तयार पारेका थप सामग्री शीघ्र प्रसारण/प्रकाशन प्रसारणको तयारीमा छन् ।)