ज्यामिरेघाटमा गण्डकी र भिटोफ नेपालको रोपाइँ महोत्सव


नेपालभूमि, गोरखा । 

 गण्डकी गाउँपालिका र भिटोफ नेपालको संयुक्त आयोजनामा १९औं रोपाइँ महोत्सव सम्पन्न भएको छ । गाउँ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गोरखाको ज्यामिरेघाटमा स्थानीयहरूको सहभागितामा बुधबार रोपाइँ महोत्सव सम्पन्न भएको हो ।

हर्ष र उल्लासका साथ सम्पन्न महोत्सव गाउँ पर्यटनको विकासमा कोशेढुंगा साबित हुने विश्वास लिइएको छ । भिटोफ नेपाल र गण्डकी गाउँपालिकाद्वारा संयुक्त रूपमा आयोजित रोपाइँ महोत्सवमा स्थानीय बुद्धिजीवी तथा जनप्रतिनिधिहरूको उल्लासमय सहभागिता रहेको थियो । महोत्सवमा बाजागाजासहित विभिन्न देवी देवता र नागहरूको पूजा गरेर विधिपूर्वक रोपाइँको थालनी गरिएको थियो ।
किसानहरूले आफ्नै शैलीमा असार मासको दबदबे हिलो खेलेर माहौल रमाइलो गरी रोपाइँ महोत्सव मनाएका हुन् । यस्तै रोपाइँमा हली, बाउसे र रोपाहारहरूले मौलिक भाकामा गीत गाउँदा प्रेम र सद्भाव, वियोग र पीडाका कथाहरू अभिव्यक्त गरेका थिए । भिटोफ रोपाई महोत्सव २०७९ लेखिएको टिसर्ट लगाइ रोपाइँ महोत्सव मनाएका हुन् ।

१९औं रोपाइँ महोत्सव कार्यक्रममा बोल्दै भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले कृषि पेसाप्रति स्वयम् कृषकहरू नै विकर्षसित भइरहेको अवस्थामा उनीहरूलाई कृषि पेसा र श्रमप्रति आकर्षण बढाउन यो महोत्सव फलदायी हुने विश्वास व्यक्त गरे ।

थापाका अनुसार ‘नेपालले यो पर्वलाई पर्यटकीय उपजको रूपमा विकास गर्न सके यसले कृषकहरूलाई कृषि पेसामा निर्भर रहन टेवा पुर्‍याउँछ।’  उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि समेत यो नौलो हुन सक्दछ ।’

नेपालमा दिगो पर्यटन विकासको अवधारणा अनुरूप कृषिलाई आधार मानेर यसलाई पर्यटनसँग जोड्न विभिन्न योजनाहरूका साथ अगाडि बढ्न सकेमा स्थानीय बासिन्दाहरूलाई बढी प्रोत्साहन गर्न सकिने उनले भने ।

यसबाट केही हदसम्म बेरोजगारीको समस्या समाधान हुन सक्नेमा उनले जोड दिए । साथै गाउँ र सहरका नेपालीहरूमा भातृप्रेमको बिजारोण गर्नका लागि समेत यो महोत्सव महत्त्वपूर्ण भएको भिटोफ नेपालका अध्यक्ष थापाले बताए ।