फेरिँदै समाजवादीका मन्त्री, शपथ भाेलि !


नेपालभूमि, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी मन्त्री फिर्ता हुने भएका छन् । हाल सरकारमा सहभागी रहेका शहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटन मन्त्री प्रेम आले फिर्ता हुने भएका हुन् ।

यस्तै नेकपा (एस)कै तर्फबाट शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसी नियुक्त हुनेछन् ।

मन्त्री हेरफेर तथा संघीय निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । गठबन्धनको बैठकले आजै मन्त्रिपरिषद् पुनर्गठनबारे पनि ठोस निर्णय गर्ने जनाइएको छ । निर्वाचनको मिति घोषणा भएसँगै मन्त्रिमण्डल हेरफेर गर्न नपाइने भएका कारण गठबन्धनका अन्य दल समेत मन्त्री हेरफेर गर्नुपर्ने दबाब छ ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले गत जेठ २२ गते चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरे पनि विविध कारण देखाउँदै मन्त्री फेर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आलटाल गर्दै आएका थिए । भने नेकपा एसका अध्यक्षले पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। प्रधानमन्त्री देउवा पछिल्लो समय मन्त्री हेरफेर गर्न तीव्र दबाबमा छन् ।

उनले सोमबार मन्त्रिपरिषद् बैठक सकिएपछि नेकपा एकीकृत समाजवादीका ४ जना मन्त्रीसँगै छुट्टै छलफल गरेका थिए । सो छलफलका क्रममा प्रधानमन्त्री देउवाले मन्त्रीहरूलाई राजीनामा दिन सुझाएको स्रोतको दाबी छ । तर मन्त्रीहरूले नै प्रधानमन्त्रीको कुरा नमान्दा मन्त्रिमण्डल पुनर्गठन गर्न ढिलाइ भएको बताइन्छ । नयाँ मन्त्रीको शपथ समेत बिहीबारसम्म भइसक्ने स्रोतको दाबी छ  । यद्यपि यसबारे आधिकारिक जानकारी प्राप्त भइसकेको छैन ।