जो वडाध्यक्षबाट प्रमुख उपप्रमुख बने


नेपालभूमि, खोटाङ ।

९ वैशाखअघिसम्म खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका लोकेन्द्र राई वडाध्यक्षको भूमिकामा थिए । गाउँपालिका अध्यक्षमा उठ्ने भएपछि उनले ९ वैशाखमा पदबाट राजीनामा दिए । गाउँपालिकाको ३० वैशाखमा सम्पन्न निर्वाचनमा उनी एमालेकातर्फबाट अध्यक्षमा निर्वाचित भएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनपछि पाँच वर्ष वडाध्यक्ष बनेर काम गरेका राईको भूमिका थप फराकिलो बनेर फेरिएको हो । पाँच वर्ष जनप्रतिनिधिका रूपमा काम गर्नेक्रममा लोकेन्द्रले आफ्नो भूमिकालाई बृहत् बनाउने अभ्यास गरे । वडाबाट सिंगो पालिकाको नेतृत्व गर्ने क्षमताको विकास गरे ।

फलतः उनी यसपल्ट वडाध्यक्षबाट गाउँपालिका अध्यक्षमा फड्को मार्न सफल भएका छन् । जिल्लाका १० पालिकाका ७९ वडामा निर्वाचित वडाध्यक्षमध्ये उनी पालिका प्रमुखमा विजयी हुने एक मात्र वडाध्यक्ष बनेका छन् । गाउँपालिकाको नेतृत्वमा पुगेपछि संघीयताको मर्म अनुसार वडालाई शक्तिशाली बनाउने उनको योजना छ ।

ुसिंहदबारको अधिकार गाउँमा अझै आइपुगेको छैन । म गाउँ–गाउँमा सिंहदबारबाट पुर्‍याउने प्रयास गर्नेछु । श्रोत साधन वितरण गरेर वडालाई अधिकार सम्पन्न बनाउने छु,ु राईले भने, ‘वडा शक्तिशाली भए मात्र गाउँपालिका मजबुत हुन्छ । स्थानीय तहलाई सुन्दर बनाउने छु, । विकृति र विसङ्गतिको अन्त्य गर्ने छु । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने छु ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सँगै वडाध्यक्ष चुनिएका कतिपय जनप्रतिनिधि पुनः वडाध्यक्षमै दोहोरिए । कोही टिकट नै नपाएर नेतृत्वलाई धारे हात लाउँदै वडाध्यक्षबाट बिदा भए । कतिपय पराजित भए । तर हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका निवर्तमान वडाध्यक्ष रमेश राउत उपमेयरमा उक्लिएका छन् ।

राउत लगायतका जनप्रतिनिधिले बिहीबार निर्वाचन अधिकृतको कार्यालयबाट विजयी भएको प्रमाण–पत्र लिएका छन् । दुर्छिमदेखि हलेसीसम्म विजय र्‍याली निकाले । वडाध्यक्षका रूपमा सेवा गर्ने क्रममा उनले आफ्नो भूमिकालाई फराकिला बनाउँदै लगे, नगरपालिका हाँक्ने आँट र साहस जुटाए । पाँच वर्षमा उपमेयरमा दाबी गर्ने हैसियत बनाए । नगरपालिकाको मुहार फेर्ने योजना सहित कार्य प्रारम्भ गर्ने राउत बताउँछन् ।

यस्तै, स्थानीय तहको निर्वाचनले बराहपोखरी गाउँपालिका–४ फाक्टाङका निवर्तमान वडाध्यक्ष भुवलराज राईको भूमिका फेरिएको छ । गठबन्धन (नेकपा एकीकृत समाजवादी)कातर्फबाट उनी गाउँपालिकाका उपाध्यक्ष चुनिएका छन् ।

पार्टीले कारबाही गर्ने चेतावनी दिँदादिँदै ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङले गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिए । कांग्रेसका गाउँपालिका सभापति तामाङ विजयी त भएनन् तर गठबन्धनका उम्मेदवार हराउन उनको मत पर्याप्त भए । त्यसको फाइदा एमालेका गिरेन्द्रबहादुर राईले उठाए ।

तामाङका कारण गठबन्धनका उम्मेदवार श्रीबहादुर राई पराजित भए । तामाङले १००७ मत पाएका छन् । गिरेन्द्रबहादुरले २६०६ मत पाउँदा श्रीबहादुरले २४८० मत पाएका छन् ।