हत्याका फरार अभियुक्त तीन वर्षपछि पक्राउ


नेपालभूमि, काठमाडौं ।

२०७५ सालमा एक जनाको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका- ३२ तीनकुने गैरीगाउँमा तीन जनाको मिलेमतोमा धारिलो हतियार प्रयोग गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-१० का २५ वर्षीय मुण्डा भनिने सरोज सुन्दास रहेका छन् । आरोपित दुईजना महेश परियार र मनिष बानियाँलाई भने घटना भएकै दिन २०७५ साल मंसिर ८ गते नियन्त्रणमा लिइसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरी टोलीले नैकापबाट उनलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाएको जनाएको छ ।