नेपाल यूएईसँग ४८ रनले पराजित


नेपालभूमि, काठमाडौं ।

आइसीसी विश्वकप क्रिकेट लिगअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५।१ ओभरमा एक सय २० रनमै समेटियो ।

युएईविरुद्ध पनि नेपालको ब्याटिङ चलेन । नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । यसबाहेक ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाललाई सस्तोमा समेट्न युएईका बसिल हमेदले सर्वाधिक चार विकेट लिए । पाँच ओभर बलिङ गरेका हमेदले एक मेडन राख्दै १५ रन खर्चिए ।

यस्तै, जुनैद सिद्धिकीले दुई विकेट लिँदा जहुर खान र रोहन मुस्तफाको नाममा एक एक विकेट रह्यो । यसअघि टस जितेर ब्याटिङमा आएको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेको थियो ।

युएईका चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाएका थिए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाएका थिए । नेपालका सोमपाल कामीले चार विकेट लिएका थिए ।

यसबाहेक, करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक विकेट लिएका थिए । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो । डिभिजन २ मा १० खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, तालिकाको दोस्रो स्थानमा रहेको युएईले १६ खेलबाट २० अंक जोडेको छ ।