अझै खुलेन चीनसँगको नाका


काठमाडौँ । नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट केही गएको छैन ।

नाका खुलाउन नेपालले पटक पटक अनुरोध गरेको छ तर चीनले कुनै चासो देखाएको छैन । कोरोना महामारी नियन्त्रण गर्ने वहानामा ती नाका हुँदै नेपाली वस्तुको प्रवेशमा चीनले रोक लगाएको हो ।

प्रमुख दुई व्यापारिक नाका खुलाउने मुद्दामा नेपाल कति निरीह बनेको छ भन्ने कुरा सोमबार परराष्ट्रमन्त्री डा. नारायण खड्काको दिएको अभिव्यक्तिले स्पष्ट देखाउँछ । ‘चीनसँग नाका खुलाउने विषयमा धेरै पहल गरेका छौं ।

चीनका परराष्ट्रमन्त्रीसँग पनि माग गरेका थियौं । कोभिडकै कारण नाका बन्द भएको हो,’ परराष्ट्रमन्त्री खड्को भनाई थियो, ‘आर्थिक रुपमा अप्ठेरो भएको छ । हाम्रो निर्यात लगभग ठप्प जस्तै छ । कोरोना कम हुँदै जाँदा यो समाधान होला ।’ राजधानी दैनिकबाट