सिंहदरवारमा यस्तो बन्ने छ नेपाली सेनाको नमूना भवन (फोटोफिचर)


नेपालभूमि, काठमाडौं ।

देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरवार परिसरभित्र नेपाली सेनाको भवन निर्माणको काम सुरु भएको छ । सिंहदरवारभित्र निर्माण सुरु हुन लागेको नेपाली सेनाको चण्डी दल गणको नयाँ भवनको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्याश गरेकी छिन् ।

सिंहदरवारको पश्चिम खण्डमा निर्माण हुन लागेको आधुनिक भवनको मन्त्री झाँक्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वानाथ पौडेलले संयुक्त रुपमा शिलान्याश गरेका हुन् ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ४३ रोपनी ६ आना रोपनी क्षेत्रफलमा चण्डी दल गणको भवन निर्माणको काम अघि बढाएको हो ।

आगामी दुई बर्षभित्र भवन निर्माण सम्पन्न हुने भवनको लागत ६५ करोड ९० लाख रुपैयाँ रहेको छ । सिंहदरवारभित्र हाल संघीय संसद भवन निर्माण भएको स्थलमा चण्डी दल गण रहेको थियो । संसद भवन निर्माणसँग चण्डी दल गणको नयाँ भवन निर्माणको काम अघि बढेको हो ।

नयाँ भवनको शिलान्यास गर्दै मन्त्री झाँक्रीले तोकिएको समयभित्र नै सम्पन्न हुने विश्वास व्यक्त गर्दै समयसीमा अघि नै सम्पन्न गर्नको लागि आवश्यक रहेको बताइन ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले चण्डी दल गणको नयाँ भवन आगामी २२ महिनाभित्र नै सम्पन्न हुने बताउदै गुणस्तरीय रुपमा तोकिएकै समयमा सम्पन्न हुने बताए ।

रक्षा सचिव किरणराज शर्मा सुरक्षा विना विकास र शान्ति प्राप्त नहुने भएकाले समग्र सिंहदरवारको सुरक्षाको लागि चण्डी दल गणको नयाँ भवन निर्माण हुन सुखद विषय भएको बताए ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनालीले २०८० साल पुस समय रहेपनि त्यस भन्दा अघि नै भवन निर्माण हुन बताउदै विभागको तर्फबाट निर्माणको क्रममा गर्नुपर्ने निर्णय समयमा नै हुने बताए ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दीलिपशेखर श्रेष्ठले निर्माण हुन लागेको पाँच तले नयाँ भवनमा ७०२ जना नेपाली सेनाका जवान बस्ने गरी डिजाइन गरिएको जानकारी दिए ।

उनका अनुसार नेपाली सेनालाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार सहित डिजाइन गरिएको छ । ४३ रोपनी ६ आना क्षेत्रफल मध्ये १० प्रतिशत भवन र बाँकी खुला क्षेत्रको रुपमा रहने बताउदै भवन निर्माणमा कुनै समस्या नआउने गरी काम अघि बढाउने बताए ।
भवन निर्माणको जिम्मेवारी संघीय संसद भवन निर्माणको जिम्मेवारी पाएको टुन्ड्री निर्माण सेवाले पाएको छ । टुन्ड्री/रसुवा/बिकोइ जेभीका आधिकारिक प्रतिनिधि सुमन सुवेदीले नयाँ भवन समयसीमा नै निर्माण गरिने प्रतिबद्धता जनाए ।