मुलुकभर चिसो बढ्यो : अधिकांश क्षेत्रमा औषतभन्दा कम तापक्रम


काठमाडौं ।

देशका धेरैजसो क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार जाडो सुरु हुँदै गर्दा तापक्रम घट्नु स्वाभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औसत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् । एक्कासी चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ ।

अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा। इन्दिरा कँडेलले बताउनुभयो । योबीचको समयमा कुनै दिन काठमाण्डौमा दुई डिग्रीसम्मै तापक्रम घटेको छ । नोभेम्बर लागेपछि काठमाण्डौमा न्यूनतम तापक्रम पनि घटेको उहाँले बताउनुभयो ।

विराटनगर, धनकुटा, धरान, ओखलढुङ्गा, जिरीमा न्यूनतम तापक्रम पनि घटेको छ । अधिकतम तापक्रम दिनमा र न्यूनतम तापक्रम रातमा मापन हुन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले अब फेरि जाडो तथा सुक्खायाममा हुने विपद्जन्य घटना बढ्ने सम्भावना बढ्दै जाने बताउनुभयो ।

तापक्रम घट्दै जाँदा मानिसले आगो बालेर ताप्ने, घरमा आगो बालेर छाड्नेलगायत क्रियाकलाप हुने र त्यसबाट आगलागीको सम्भावना बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने जनाइएको छ । उहाँले आगलागी तथा डढेलोका घटनाहरू घट्न थालिसकेको बताउनुभयो । केही अघिमात्रै महोत्तरीमा आगो ताप्दा शरीरमा आगो लागेर घाइते भएकी एक महिलाको हिजो बिहीवार ज्यान गएको छ ।

औसतभन्दा तापक्रम घट्ने क्रम काठमाण्डौ उपत्यकामा गएको अक्टोबर तेस्रो हप्तादेखि नै सुरु भएको हो । मुख्यतः उपत्यकामा भने अक्टोबर २६ देखि अधिकतम तापक्रम औसतभन्दा कम देखिँदै आएको छ ।

पछिल्लो समयमा भने न्यूनतम तापक्रमसमेत औसतभन्दा कम देखिन थालेको वरिष्ठ मौसमविद् डा। कँडेलले बताउनुभयो । अहिले ‘पोस्ट’ मनसुनकै समयमा चलिरहेकाले जाडोयामको आकलन आउन बाँकी नै छ । पर्सि आइतवारदेखि मौसम सुधार हुने देखिएकाले तापक्रम केही बढ्ने मौसमविद्को अनुमान छ ।

‘बिहीवारसम्मको विवरण हेर्दा काठमाण्डौ, दोलखा, डडेल्धुरा, दिपायल, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङलगायत धेरै जिल्लामा औसतभन्दा कम तापक्रम मापन गरिएको छ’, कँडेलले भन्नुभयो, ‘​पोखरा, जोमसोमलगायत केही ठाउँमा तापक्रम औसतभन्दा केही बढी छ ।’

दुई दिन नोभेम्बर १७ ९बुधवार० काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम (३० वर्षको औसत तापक्रम २३ दशमलव २ डिग्री) हो । यसपालिको अधिकतम तापक्रम घटेर २२ डिग्रीमा झरेको छ । अघिल्लो वर्ष त्यही दिन २२ दशमलव ६ डिग्री थियो । त्यसको अघिल्लो दिन नोभेम्बर १६ (मङ्गलवार) औसत अधिकतम तापक्रम २२ दशमलव ९ हो । त्यस दिन तापक्रम २१ दशमलव ८ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिजो बिहीवार औसत तापक्रम २३ दशमलव ६ हो तर तापक्रम घटेर २२ दशमलव ५ मा आएको थियो ।

विभागका अनुसार अक्टोबर २६ ९कात्तिक ९० पछि भने क्रमशः अधिकतम तापक्रम औसतभन्दा कम देखिँदै आएको छ । त्यस दिन औसत अधिकतम तापक्रम २५ दशमलव ९ थियो । गएको वर्ष औसतभन्दा बढी २७ दशमलव २ भएकोमा यसपालि अधिकतम तापक्रम घटेर २५ दशमलव ५ मा झर्‍यो ।

काठमाण्डौमा नोभेम्बर ५ मा सरदरभन्दा दुई डिग्री कम तापक्रम मापन गरिएको थियो । प्राप्त विवरणअनुसार त्यस दिन औसत अधिकतम तापक्रम २५ दशमलव २ हुनुपर्नेमा घटेर २२ दशमलव ९ मा झरेको थियो । जबकि अघिल्लो वर्ष त्यही दिन २५ डिग्री तापक्रम थियो ।

मौसमविद्का अनुसार डिसेम्बर, जनवरी, फेब्रुअरीको तापक्रम हेर्दा यसपालिको हिउँदको समयमा सरदरभन्दा तापक्रम बढी र सुक्खा हुने सम्भावना अधिक छ । यद्यपि अबको जाडोमा तापक्रमको अवस्था कस्तो हुनसक्छ भनेर विभागले अर्को हप्ता आकलन सार्वजनिक गर्दैछ । त्यसको आवश्यक तयारी भइरहेको जनाइएको छ । सागरमा बनेको निम्न चापीय क्षेत्रका कारण नेपालमा पनि मौसम बदली रहेको छ । अहिले प्रदेश नं १ मा सामान्य बदली र अन्य प्रदेशमा सामान्यतयाः बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मौसम बदलीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

आज पनि काठमाण्डौ उपत्यकालगायत विभिन्न जिल्लामा चिसो महसुस गरिएको छ भने मौसम सफा देखिएको छैन । घाम पनि लाग्न सकेको छैन । धुम्म छ, ठूलो पानी पर्ने अवस्था पनि छैन । उच्च पहाडी भूभाग तथा हिमाली भूभागमा हल्का हिमपात हुनसक्ने छ । यो क्रम भोलिसम्म रहने र पर्सि आइतवारदेखि सुधार हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

‘यस्तो समयमा तापक्रम वायुमण्डल स्थित भएर बस्ने हुँदा प्रदूषण हुनसक्छ, यस्तो अवस्थामा सावधानी अपनाउनुपर्छ’, उहाँले भन्नुभयो । यसपालि जुम्लामा माइनस पाँच डिग्रीसम्म र काठमाण्डौको न्यूनतम ७ दशमलव ४ डिग्रीसम्म तापक्रम झरेको मापन गरिएको छ ।