अधिकांश जिल्लाबाट एमालेका प्रतिनिधि छानिए


काठमाडौँ ।

नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएको छ । पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ ।

अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेले जनाएको छ । पार्टीले कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरेको थियो ।

एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रतिनिधि चयन भएका जिल्लाहरुमा प्रदेश नं १ को पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ र भोजपुर, वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर, उपत्यका विशेष कमिटीको पेसागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीमा प्रतिनिधि छनोट भएको छ ।

यसैगरी गण्डकी प्रदेशमा गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ, लुम्बिनी प्रदेशमा गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, रुकुम, रोल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशमा हुम्ला, डोल्पा, मुगु, कालीकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ । कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा चयन प्रक्रिया जारी छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २६ गते सन्देश जारी गरी उच्च समझदारीका साथ प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यहरूलाई आह्वान गर्नुभएको थियो । गत असोजमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले नयाँ नेतृत्व चयनका लागि आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा राष्ट्रिय महाधिवेशन गर्दैछ । सो पार्टीले एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाएको छ । त्यसको पाँच प्रतिशतसम्म मनोनीत प्रतिनिधि हुन सक्नेछन् ।