खोप प्रमाणीकरण अब पालिकाबाटै हुने


 काठमाडौँ, २६ कात्तिक।

स्वास्थ्य मन्त्रालयको समन्वय केन्द्रबाट हुँदा समस्या भएपछि क्यूआर कोडसहितको खोप प्रमाणीकरण अब पालिकाबाटै हुने भएको छ । समस्या नआवस् भनि प्रमाणीकरणको जिम्मेवारी पालिकाहरुलाई दिइएको हो ।

गएको कात्तिक १७ गतेदेखि पालिकाहरुले क्यूआर कोडसहितको खोप प्रमाणीकरणको जिम्मेवारी पाए पनि यो सेवा अझै प्रभावकारी हुन सकेको छैन । विदेश जानको लागि खोप प्रमाणीकरण आवश्यक पर्ने, तर आवेदन दिएको धेरै दिन भइसक्दा पनि प्रमाणीकरण नहुने धेरैको गुनासो छ ।

तर सरकारले भने सबै प्रक्रिया पूरा गरेमा चौबीस घण्टाभित्रै खोप प्रमाणीकरण हुने बताएको छ । सबै प्रक्रिया पूरा गरेर अनलाइन आवेदन भर्दा पनि प्रमाणीकरणमा समस्या भयो भने आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ ।

महाशाखा अन्तर्गतको खोप प्रमाणीकरणका फोकल पर्सन तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झाका अनुसार हरेक नागरिकले सहज रुपमा खोप प्रमाणीकरणको प्रमाणपत्र पाउन भनेर पालिकाको स्वास्थ्य शाखालाई जिम्मेवारी दिइएको छ ।

विदेश जानेहरुलाई क्यूआर कोडसहितको खोप प्रमाण पत्र र पीसीआरको रिपोर्ट अनिवार्य गरिएको छ । अनलाइनमा फारम भर्दा पासपोर्टको स्क्यान कपी, पासपोर्ट साइजको फोटो, खोप कार्डको फोटो र कबुलियत नामा अनिवार्य पेस गर्नुपर्छ ।

फारम भरिसकेपछि २४ घण्टाभित्रमा आवेदन प्रक्रियामा जाने झाले जानकारी दिए । अनलाइनबाटै खोप प्रमाणीकरणको प्रमाण पत्र लिन सकिने र यसको लागि कहीँ जान नपर्ने पनि उनले प्रष्ट पारे ।