संसद भवन समयमै सम्पन्न गर्न २४ सै घण्टा काम गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन


काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद भवन समयसीमाभित्रै निर्माण गर्न तीन सिफ्टमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले समयसीमाभित्र निर्माण सम्पन्न गर्न योजना बनाएर अगाडि बढन निर्देशन दिनुभएको हो ।

सिंहदरबारस्थित पुतली बगैचामा निर्माणाधीन संघीय संसदको भवन निरीक्षण गर्दै तिमिल्सिनाले कोभिड–१९ का कारण निर्माण कार्यमा केही बाधा पुगेको भएतापनि निर्माणकार्य उत्साहापूर्वक रुपमा अगाडि बढिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

अहिले संघीय संसदको लागि बैठक बस्ने सभाहल भाडामा लिएर काम चलाउदै आएको परिप्रेक्षमा कम्तिमा पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको सभाहल छिट्टै नै तयार गरी संचालन गर्न सकेमा राष्ट्रलाई आर्थिक भार कम हुने कुरा बताउँदै निर्धारित समय अगाबै निर्माण कार्य सम्पन्न गर्नका लागि दुई सिफ्ट होइन तीन सिफ्ट गरी चौबिसै घण्टा काम गर्ने गरी योजना बनाउन शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन दिनुभयो ।

समय अगाबै सम्पन्न गर्नका लागि केवल ८ घण्टामात्र काम गरेर सम्भव नहुने भएकाले सिंहदरबारबाटै २४ घण्टा काम गरी समय अगावै निर्माण कार्य सम्पन्न गरी अन्य निर्माण कार्यमा संलग्नपक्षहरुलाई प्रोत्साहित समेत गर्नका लागि निर्माण कम्पनीलाई सुझाब समेत दिनुभयो । करिब ९ अर्वको लागतमा बन्न लागेको यस भवनको निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ।