शहरी क्षेत्र विकासको कार्यक्रमलाई विस्तार गर्न भूमिका खेल्छु: मन्त्री झाँक्री


२२ असोज, काठमाडौं ।
नवनियुक्त शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज मन्त्रालय पुगी पद बहाली गर्नुभएको छ । पदबहालीपछि काठमाडौँ उपत्यकामा निर्माण हुने चार शहरका विषयमा थप अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णयमा उहाँले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री झाँक्रीले आवास, भवन र शहरी क्षेत्र विकासको कार्यक्रमलाई विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो ।

शहरलाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका लागि नीतिगत काम गर्न सरोकार भएका सबै निकायसँग समन्वयात्मक रुपमा काम गर्ने लक्ष्य पनि उहाँले सुनाउनुभएको छ । मन्त्रालयले अघि सारेका कार्यक्रमका विषयमा जानकारी गराउनुहुँदै सचिव डा रमेशप्रसाद सिंहले २०६९ जेठ ५ गते भौतिक योजना मन्त्रालयबाट शहरी विकास मन्त्रालय छुट्याएपछि भए गरेका कामका विषयमा मन्त्री झाँक्रीलाई जानकारी गराउनुभएको थियो । शहरी विकासलाई व्यवस्थित रुपमा अघि बढाउन नगरपालिकाहरूको सम्पर्क मन्त्रालयका रुपमा शहरी विकास मन्त्रालयलाई स्थापित गरिनुपर्ने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले सुन्दर शहर, सुन्दर घर बनाउन मन्त्रालयको कार्यक्षेत्र विस्तार भएको बताउनुभयो । सघन शहरी, नयाँ शहर योजनालगायत कार्यक्रम मन्त्रालयले अघि बढाएको उहाँले जानकारी दिनुभयो । शपथ ग्रहण र मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न गरी आज मन्त्रालय प्रवेश गर्नुभएपछि मन्त्री झाँक्रीलाई सचिव सिंहलगायत उच्च पदस्थ कर्मचारीले पुष्पगुच्छा खादासहित स्वागत गर्नुभएको थियो ।