अपाङगता भएका व्यक्तिहरुको समस्या सरकारले समाधान गर्छः मन्त्री गुरुङ


७ असोज, काठमाडौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
मन्त्री गुरुङले कोभिड–१९ को महामारीबाट अपाङगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समूदाय बढि मारमा परिरहेका उल्लेख गर्दै उनीहरुको समस्या तत्काल समाधान गर्न विशेष ध्यान दिन पनि प्रदेश, स्थानीय सरकार र सरोकारवाला सबै निकायलाई आग्रह गर्नु भयो ।

४१ औं सामाजिक सेवा दिवसको अवसर पारेर ‘अपाङ्गता भएका महिलाहरुको महासंघ– नेपाल’ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको भावना, अपेक्षा र सपना पूरा गर्न सरकारले राष्ट्रिय अपाङ्गता महासंघ–नेपाल, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित सामाजिक संघ, संस्थाहरुसँग सहकार्यका साथ काम गरिरहेको पनि बताउनु भयो ।

‘सामाजिक संघ, संस्था परिचालन गरेर पनि अपांगता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ,’ मन्त्री गुरुङले भन्नु भयो, ‘उनीहरुको समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारलाई विशेष ध्यान दिन आग्रह गर्दछु ।’ उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको सेवा र सुविधा कटौति हुन नदिने दृढता व्यक्त गर्नु भयो । त्यसका लागि गृह मन्त्रालयलाई आवश्यक्ता अनुसार ध्यानाकर्षण गराउने काम भइरहेको मन्त्री गुरुङले स्मरण गराउनु भयो ।

कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री गुरुङप्रति आभार व्यक्त गर्नु भएको थियो । त्यस अवसरमा उहाँले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरुले सहायक सामग्रीको समेत व्यवस्था गर्न नसकेको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।