भोलि मन्त्रिपरिषद् विस्तार हुने, सत्ता गठबन्धनको बैठक जारी


६ असोज, काठमाडौं ।
सरकार गठन भएको ७२ दिनपछि सत्ता गठबन्धनमा आबद्ध दलहरु मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्यमा जुटेका छन् । अहिले प्रधानमन्त्री निवास वालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन्

गठबन्धनभित्रका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले मन्त्री हुनेहरुको नाम नदिए पनि बिहीबार कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी बैठकमा बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे जानकारी दिइएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा रहेको छ । त्यसलाई फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले अडान लिँदै आएका छन् । हिजो बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय अनुसार आज प्रधानमन्त्री देउवाले नियुक्ती गरेर सपथ समेत लिइसकेका छन् ।