रसुवा भन्सारले भेटेन भदौमा राजस्व लक्ष्य


रसुवा, १ असोज :

रसुवा भन्सार कार्यालय टिमुरेले भदौ महिनामा लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा राखेको लक्ष्यको ८२ दशमलव ५३ प्रतिशत मात्र राजस्व संकलन गरेको हो । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार भदौ महिनामा कार्यालयले ५० करोड ५९ लाख ८७ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, ४१ करोड ७५ लाख ४३ हजार मात्र राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८ करोड ८४ लाख ४४ हजार कम हो ।

कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्य भन्दा ७१ दशमलव ४० प्रतिशत बढी राजश्व संकलन गरेको थियो । तर, चालु आर्थिक वर्षको दोस्रो महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन । कोरोनाका कारण चीनले एकतर्फी नाका खोल्नु, सामग्रीको आयात कम हुनु र नाकामा आयात निर्यात सहज बन्न नसक्नुले राजस्व संकलनमा कमी आएको भन्सार प्रमुख रेग्मीले बताए ।

रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षमा ६ अर्ब २८ करोड ७५ लाख ६७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । वार्षिक लक्ष्यको साउन र भदौ महिनामा १६ दशमलव ८५ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ । कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको डेढ वर्ष बढी भएको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमण सुरु यता रसुवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन ।

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायत सामग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।

२०७६ माघ १५ देखि गएको जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडिमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक ७ देखि ९ चिनिया गाडिमै नेपाल सामान आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

चिनियाँ एउटा गाडिमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडिमा आएको सामाग्री नेपाली गाडिमा लोड अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

२०७१ मङ्सिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो । तर, रसुवागढी नाका २०७२ मङ्सिर देखी पुन सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मङ्सिर देखी हुँदै आएको छ ।