चीनले पठाएको स्वास्थ्य सामग्री तातोपानी हुँदै राजधानी भित्रिँदै

चौतारा : चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलीण्डरलगायत स्वास्थ्य सामग्री आज तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीलाई जिम्मा दिई बेलुकासम्म राजधानी पुग्ने भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए ।

अनुदानमा प्राप्त सामग्रीहरूमा १९५ लिटरको लिक्युड अक्सिजन सिलीण्डर १८ हजार ९०० केजी, २१० लिटरको लिक्युड अक्सिजन सिलीण्डर १० हजार १५० केजी, अक्सिजन टिप ७५० थान र अक्सिजन इनालेटर ३०० थान रहेका छन् । उक्त सामग्रीहरू अति संवेदनशील भएकोले दमकलसहित प्रहरीको सूरक्षा घेरामा पठाइने व्यवस्था मिलाइएको छ । अरु आउन बाँकी सामग्रीहरू केही दिनमा आईपुग्ने सूचना अधिकृत ढकालले जानकारी दिए ।