बायर्न म्युनिखको फराकिलो जित


म्युनिख, एजेन्सी।
जर्मन लिग विजेता बायर्न म्युनिखले बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा फराकिलो जित हात पारेको छ।शुक्रबार राति भएको खेलमा बायर्न म्युनिखले प्रतिद्वन्द्वी साल्केमाथि ८–० गोलको फराकिलो जित हासिल गरेको हो।

टोलीको जितमा सर्ज गनाब्रीले ह्याट्रिक गरेका थिए। बाँकी गोल लेरोए साने, लियोन गोरेन्टज्का, रोबर्ट लेवान्डोस्की, थोमास मुलर र १७ वर्षीय खेलाडी जामाल मुसियलाले थपेका थिए । बायर्न म्युनिखको ८ गोलको जित यो वर्ष दोस्रोपटक थियो। यसअघि च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल खेलमा बार्सिलोनामाथि ८–२ को जित दर्ता गरेको थियो।

योसँगै मेनेजर हान्सी फ्लिकको नेतृत्वमा बायर्न म्युनिखले लगातार २२ खेलमा जित प्राप्त गरेको छ। टोलीले पछिल्लोपटक डिसेम्बरमा ७ मा हार व्यहोरेयता ३० खेलमा जित र एक खेलमा बराबरीको नतिजा आत्मसात् गरेको छ। टोलीले गत सिजनमा बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग गरी तेहेरो उपाधि जितेको थियो।

गनाब्रीले खेलको चौथो मिनेटमा किमिचको एसिस्टमा डिबक्स बाहिरबाट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि गोरेटज्काले १९औं मिनेटमा मुलरको सहयोगमा गोल गर्दा टोली २–० को अग्रतामा पुगेको थियो। लेवान्डोस्कीले ३१औं मिनेटमा पेनाल्टी किकमा गोल गरेर यस सिजनमा पहिलो खेलबाटै खाता खोले।
उनले गत सिजनमा ४७ खेलबाट ५५ गोल गरेका थिए। तर, पहिलो हाफमा ३–० ले टुंगिएको सो खेलको दोस्रो हाफमा भने बायर्न म्युनिखले साल्केविरुद्ध ५ गोल गरेको थियो। गनाब्रीले दोस्रो हाफ शुरू भएको दुई मिनेटमै करिब २० यार्डबाट खाली पोस्टमा गोल गरेर ५९औं मिनेटमा उनी ह्याट्रिकमा पुगेका थिए। दुवैपटक उनलाई सानेले सहयोग गरेका थिए। त्यस्तै, मुलरले ६९औं मिनेटमा लेवान्डोस्कीको क्रसमा गोल गर्दा टोली ६–० को अग्रता लिँदै ठँलो जितको अग्रसरतिर लम्केको थियो।
त्यसैगरी, जर्मन अन्तर्राष्ट्रिय खेलाडी सानेले ७१औं मिनेटमा गोल गर्दै डेब्युमै सफलता हासिल गरेका थिए। उनी म्यानचेस्टर सिटीबाट ४४ दशमलव ७ मिलियन पाउन्डमा अनुबन्ध भएका हुन्। उनले पहिलो खेलमै दुई एसिस्ट गर्नुका साथै एक गोल गर्न सफल भए। ८१औं मिनेटमा युवा खेलाडी मुसियालाले एक गोल गरेपछि बायर्न म्युनिखले ८–० गोलअन्तरको जित हात पा¥यो। उक्त गोलसँगै उनी बुन्डेसलिगाको इतिहासमा बायर्नको तर्फबाट गोल गर्ने सबैभन्दा कान्छो खेलाडीसमेत बनेका छन्।
दर्शकलाई प्रवेशमा रोक
जर्मनी सरकार र बुन्डेसलिगाका १८ क्लबबीचको सम्झौतापश्चात् २० प्रतिशत दर्शकलाई स्टेडियममा प्रवेश दिन अनुमति दिइएको थियो।
केही समययता जर्मनीमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको तथ्यांक सार्वजनिक भएपछि जर्मनी सरकार दर्शकलाई स्डेडियममा प्रवेश गराउन सहमत भएको बताइएको थियो। तर, म्युनिखका मेयरले दर्शकलाई प्रवेश दिन नहुने निर्णय सार्वजनिक गरेपछि साल्के र बायर्न म्युनिखबीचको खेल दर्शकविना सञ्चालन भएको छ।