बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु


राँझा । बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० बजे र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको गए राति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको थियो । योसँगै बाँकेका १३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १२२ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।