करिश्मालाई डब्लुबीसी मुवाँथाईको उपाधि


पोखरा । करिश्मा कार्कीले डब्लुबीसी मुवाथाई च्याम्पियनसिपको उपाधि हात पारेकी छिन् । पोखरामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउण्डमा पराजित गर्दै कार्कीले फ्लाइ वेट विधामा वुमन इमपावरमेन्टको उपाधि जितेकी हुन् । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको फ्लाई वेट विधामा करिश्मा र रिनाले प्रतिस्पर्धा गरेका थिए ।
केटीएम सिटी मुख्य प्रायोजक रहेको प्रतियोगिताको सुपर लाइट विधामा भारतका लव कुमारले नेपालका विकास गुरुङलाई हराए भने सुपर फिदर वेटमा सन्तोष कुमार लामाले ज्ञानेन्द्र सिंहलाई पराजित गरे । यस्तै, इलाइट एमेच्योरतर्फ आयुश गुरुङले छिरिङ पाल्देन शेर्पालाई, मिलन तामाङले रोहित कायतलाई, रजिना विष्टले सुष्मा चौधरीलाई, रमित महर्जनले जेन्जी राईलाई, प्रशान्त तामाङले प्रिन्स गुरुङलाई, अमृत गुरुङले अनिश रेग्मीलाई र रोशन घलेले सन्दीप काप्रीलाई पराजित गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी मुख्य अतिथी रहेको प्रतियोगिता पोखराको प्रर्दशनी केन्द्रमा आयोजना भएको थियो । १० वटा फाइट समावेश प्रतियोगितामा २० बढी जिल्लाका खेलाडी सहभागी रहेका थिए । प्रतियोगिता पोखरामा पहिलो पटक आयोजना गरिएको संघका अध्यक्ष राजु राईले बताएका छन् ।