नेपालमा हुने शहरी विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन १३ देशका प्रतिनिधि सहभागी हुने


१६ माघ, काठमाडौं ।
एकीकृत र जलवाय अनुकूलन शहरी विकासका लागि स्थानीय योजना भन्ने नारासहित स्थानीय योजना निर्माण मञ्चको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा हुने भएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालयले जापान सरकार, भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयसंगको सहकार्यमा सम्मेलन गर्न लागेको हो । उक्त सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहने छ ।
शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनमा शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप रियारले सम्मेलन यही माघ १९ र २० गते काठमाडौंमा हुने लागेको जानकारी दिए ।
दिगो, उत्थानशील र समावेशी समाज एवं शहरबस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारले सन् २०१८ मा “स्थानीय योजना निर्माण मञ्च गठन गरेको थियो । मञ्चमा एशिया प्रशान्त क्षेत्रका नेपाल, जापान, लाओस, भियतनाम, चीन, भारत, युगान्डा, मोजाम्बिक, भुटान, श्रीलंका, मलेसियालगायत १३ देश आबद्ध छन् । परियारले सम्मेलनमा एक अर्काको सिकाइ तथा अनुभव आदानप्रदानका लागि सम्मेलन फलदायी हुने अपेक्षा गरिएको बताए ।
युएन ह्याबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालयको संयोजनमा हरेक वर्ष यससम्बन्धी बहस, छलफल, अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सम्मेलन हुने बताइएको छ । सम्मेलनको अघिल्लो दिन माघ १८ गते अन्तर्राष्ट्रिय प्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी विकासमा गरिरहेको कामबारे स्थलगत अवलोकन भ्रमण गर्ने भएका छन् । ‍सम्मेलनमा प्राविधिक सत्र एवम् अन्तक्रियाहरु हुने मन्त्रालयले बताएको छ ।