सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित


नेपालभूमि, काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको बिहीबारको सुनुवाइ  स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । सोही पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको थियो ।

तर, सन्दीपकै कानुन व्यवसायीले बिहीबारको सुनुवाइ स्थगित गरेका उच्च अदालत पाटनले जनाएको छ । यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।

पहिलो पेसीमा सन्दीपका कानुन व्यवसायीले नै सुनुवाइ स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। तर, बिहीबार उनको पेसी चौथो नम्बरमा परेको थियो ।

एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार उनी १८ कात्तिकमा कारगार चलान भएका थिए ।