राजश्व संकलनको लक्ष्य पूरा गर्न कर्मचारीलाई अर्थमन्त्री पौडेलको कडा निर्देशन


१८ पुस, काठमाडौं ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले
राजस्व संकलनको वर्तमान अवस्था एवम् तोकिए वमोजिमको राजस्व संकलनको लक्ष्य हासिल गर्न मन्त्रालयका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । उनले लक्ष्य अनुसार राजश्व संकलन गर्न आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सवै कार्यालयका प्रमुख एवम् कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्री पौडेलले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको हुँदा लक्ष्य बमोजिमको राजस्व संकलन गर्न राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिवद्धताका लागि बैठकको आयोजना गरिएको बताउंदै सबैलाई आ–आफ्नो परिभाषित जिम्मेवारी पुरा गर्न निर्देशन दिए । आजैदेखि दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्ने बताउंदै उनले हालसम्मको राजस्वको न्यूनता पुरा गरी लक्ष्य अनुसार राजस्व संकलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न निर्देशन दिए । राजस्व परिचालनका लागि विभाग तथा कार्यालयहरुलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने उल्लेख गर्दै मन्त्री पौडेलले कर कानूनको परिपालना गराउंदा गल्ति गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नपार्न समेत आग्रह गरे ।

स्थानीय प्रशासन र सुरक्षा निकायसंगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जांचपासलाई वास्तविक र यथार्थपरक वनाउन निर्देशन दिदै कार्यालयहरुका लागि तोकिएको कार्यगत सूचकहरु प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना वढाउन समेत निर्देशन दिए । सुशासन, सदाचारिता, नैतिकता, इमान्दारिता र व्यावसायिकतालाई मूलमन्त्र मानी कार्य गर्न पर्नेमा उनले जोड दिए ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकले तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न प्रतिवद्धता जनाएका थिए ।