आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची

नेपालभूमि, काठमाडौं ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ ।
मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको छ । निगमका अनुसार एलपी ग्याँसमा ३५९.५० प्रति सिलिन्डर घाटा रहेको छ भने १५ दिनको घाटा ४६.४४ करोड रहेको छ ।
पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा निगमलाई अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने देखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आईओसीलाई ८ जनवरी २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं सरकारलाई तिर्नुपर्ने ऋण गरी अझै करिब १८ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलिमय पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र आईओसीको बक्यौता एवं नेपाल सरकारको ऋणको व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण रहेकोले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत रहेन निगमले जनाएको छ ।