शहरी विकास तथा भवन निर्माण विभागको २४ बुँदे घोषणा पत्रमा के छ ? (पूर्णपाठसहित)


नेपालभूमि, काठमाडौं ।

शहरी विकास मन्त्रालय अन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले आगामी आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन सम्बन्धी २४ बुँदे प्रतिबद्धता घोषणा गरेको छ ।

मन्त्रालयको आव २०७८/७९ को वार्षिक समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयन सम्बन्धी राजधानीमा आयोजित ३ दिने गोष्ठीका बीच उक्त प्रतिबद्धता पत्र घोषणा गरिएको हो । विभाग अन्तर्गतका रुग्ण आयोजनाहरूको फरफारक वर्षको रूपमा निर्माण कार्यहरू परामर्शका कार्यहरू सञ्चालन गर्ने गराइने प्रतिबद्धता गरिएको छ ।

यस्तै भूकम्पीय दृष्टिले अत्यन्त संवेदनशील तथा पहिचान गरिएका सरकारी भवन, निजी आवासहरूको राष्ट्रिय भवन संहिता बमोजिम हुने गरी प्रबलीकरण डिजाइन सम्बन्धी अवधारणा पत्र, प्रबलीकरण कार्यविधि तथा निर्देशिका तयार गरी नमूनाको रूपमा कार्य अगाडि बढाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

विभागबाट तयार गरिएको सरकारी भवन मर्मत सम्भार निर्देशिकालाई समयानुकूल परिमार्जन गरिने तथा निर्माण भएका सभाहलहरूको स्वामित्व हस्तान्तरण सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि स्वीकृतिका लागि एक महिनाभित्र पेश गरिने समेत घोषणा गरिएको छ ।

शुक्रबार राजधानीमा सम्पन्न समीक्षा गोष्ठीमा शहरी विकास मन्त्री मेटमणि चौधरी, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सहसचिवहरू पद्मकुमार मैनाली, प्रदीप परियार, प्रकीर्ण तुलाधर, कुमार घिमिरे, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगाललगायत अधिकारीहरूसहित मन्त्रालय मातहतका विभिन्न आयोजना प्रमुखहरूको उपस्थिति थियो ।

पूर्णपाठ…