लियो क्लब अफ इन्टरप्रेनर्स नेपालको ‘ब्राण्ड एम्बेस्डर’ बने पत्रकार रैगाईं


नेपालभूमि, काठमाडौं ।

तीस वर्षमुनिका युवा उद्यमीहरूको संस्था लियो क्लब अफ इन्टरप्रेनर्सको ब्राण्ड एम्बेस्डरमा पत्रकार विष्णु रैगाईं नियुक्त भएका छन् । क्लबको शनिबार सम्पन्न दोस्रो वार्षिक साधारण सभाले पत्रकार रैगाईंलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी एक वर्षका लागि ब्राण्ड एम्बेस्डर नियुक्त भएका हुन् ।

क्लबको एम्बेस्डर भएर काम गर्नु पाउनु आफ्नो लागि गौरवको विषय भएको उनको प्रतिक्रिया छ । उनले सञ्चार कर्ममार्फत नेपाली युवालाई उद्यमशीलता र सामाजिक सेवातर्फ आकर्षित गर्न आफू क्रियाशील रहने बताए ।

कार्यक्रममा बोल्दै क्लबका सिनियर प्रेजिडेण्ड एडभाइजर लायन सुदीप कोइरालाले क्लबले प्रदान गरेको जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरे । नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सिनियर एडभाइजर कोइरालाले नेपाली युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न पहल गर्न आग्रह गरे ।

झण्डै एक दशकदेखि पत्रकारितामा संलग्न रहेका रैगाईंले विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका छन् ।उनी यसअघि तत्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रेस संयोजकका रूपमा समेत काम गरेका थिए ।

हाल नेपाल टेलिभिजनको कार्यक्रम पूर्वाधार परिवेशमा सह निर्देशकको रूपमा आबद्ध रैगाईं क्रियाशील युवा पत्रकारका रूपमा परिचित छन् । क्लबले मनोज विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।