‘मन्त्री निवास’ निर्माण कार्य ८१ प्रतिशत सकियो , यसरी बन्दैछ…(फोटो फिचर)


नेपालभूमि, ललितपुर । 

ललितपुरको भैंसीपाटीमा निर्माणाधीन संघीय मन्त्री निवासको काम ८१ प्रतिशत सकिएको छ । पुलचोकमा रहेका निवास साँघुरो भएको भन्दै भैसैंपाटीमा सुविधा सम्पन्न अत्याधुनिक मन्त्री निवास निर्माण हुँदैछन् ।

निर्माणाधीन मन्त्री निवासको बिहीबार शहरी विकास मन्त्री मेटमणि चौधरीले निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री चौधरीले बिना कुनै बहाना निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले आयोजना सम्पन्न भएर तोकिएकै समयमा हस्तान्तरण गर्न सकिने विश्वास व्यक्त गरे ।

यस्तै शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले निर्माण कार्यको अवधि, लागत र गुणस्तरमा ध्यान दिन निर्देशन दिए । उनले भने, ‘तोकिएको समयमै मन्त्री क्वार्टर हस्तान्तरण गर्नुपर्छ । मैले पटक पटक भन्दै आएको छु, लागत, समय र गुणस्तरमा ध्यान दिनुस् ।’ यस्तै उनले स्विमिङ पुल, ग्रोसरी लगायतका संरचना सञ्चालनमा ढिलाइ भए पनि मन्त्री क्वार्टर समयमै हस्तान्तरण गर्नुर्पेमा जोड दिए ।

उक्त क्षेत्रमा २४ वटा संघीय मन्त्री निवास तथा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधि सभाका उपसभामुखका लागि छुट्टाछुट्टै निवास निर्माण भइरहेका छन् । विसं २०७६ कार्तिक २७ गतेदेखि शुरू भएको आयोजनाको म्याद आगामी कात्तिक २७ गते सकिनेछ । उक्त आयोजनाको कूल लागत १ अर्ब ३ करोड४६ लाख ८२ हजार ४३७ रुपैयाँ अनुमान गरिएको छ ।