टेलिग्रामको प्रिमियम भर्सन सार्वजनिक, मासिक ५ डलर तिरेर प्रयोग गर्न सकिने


नेपालभूमि, काठमाडौं ।

टेलिग्रामले पनि आफ्नो प्रिमियम सब्सक्रिप्सन सुरु गरेको छ । मासिक ५ डलर (६२२ रुपैयाँ) शुल्क तिरेर टेलिग्रामको यो भर्सन प्रयोग गर्न सकिनेछ । प्रिमियम सब्सक्रिप्सन प्रयोग गर्दा ठूलो साइजका फाइल अपलोड गर्न सकिने, छिटो डाउनलोड हुने, धेरै च्यानल प्रयोग गर्न सकिने, नयाँ स्टिकरहरू प्रयोग गर्न सकिने लगायतका फिचर प्रयोग गर्न सकिने बताइएको छ ।

प्रिमियम सब्सक्रिप्सनको सुरुवातबारे कम्पनीले जारी गरेको ब्लगपोस्ट अनुसार हाल प्रयोगकर्ताले २ जीबीसम्मको फाइलमात्र अपलोड गर्न पाउनेमा प्रिमियम भर्सन सब्सक्राइब गरेका प्रयोगकर्ताले भने ४ जीबीसम्मको फाइल अपलोड गर्न सक्नेछन् । त्यसैगरी प्रयोगकर्ताले कुनै पनि इन्टरनेटको सीमित बन्देजबिना आफ्नो इन्टरनेटको स्पिडको आधारमा फाइल डाउनलोड गर्न सक्नेछन् ।

प्रिमियम भर्सन खरिद गरेका प्रयोगकर्ताले एक हजार च्यानल फलो गर्न पाउनेछन् भने २० वटा च्याट फोल्डर क्रियट गर्न पाउनेछन् र प्रत्येकमा २०० वटा च्याट गर्न सकिनेछ ।

साथै फुल स्क्रिन एनिमेसन लगायत अन्य नयाँ स्टिकरहरू पनि प्रयोग गर्न पाउनेछन् । योसँगै भ्वाइसलाई टेक्स्टमा रूपान्तरण सकिनेछ भने आफ्नो अकाउन्टमा अहिलेको तुलनामा लामो बायोग्राफी राख्न सकिनेछ र आफ्नो प्रोफाइलमा पनि एनिमेटेड प्रोफाइल पिक्चर राख्न सकिनेछ । हाल टेलिग्राममा ७० करोड सक्रिय प्रयोगकर्ता छन् ।