रवि लामिछानेलाई खुल्ला पत्र !


  • सुर्जन नेपाली

रवि लामिछाने ज्यू, तपाईं  यदि राजनीतिमा आउने नै हो भने स्वतन्त्र पार्टीबाट लड्नुहोस् नभए युवा जनशक्ति पार्टी गठन गर्नुहोस्  । बहालवाला काङ्ग्रेस कम्युनिष्ट र अन्य पार्टीमा जानुभयो भने तपाइको हबिगत तत्काल देखिनेछ ।

तपाईंले हालसम्म आर्जन गरेको जनमुखी प्रेरणा र बौद्धिकतालाई यिनीहरूले धुलो चटाइ दिनेछन् । यी पार्टीका नेताहरूमा  सिंह र सर्पको जस्तो विशेषता छ । जसको स्वभाव अरुलाइ डस्न मात्र जान्नु हो । यिनीहरु आफू भन्दा जान्ने अरू कोही नहोस् भन्ने दुष्मनोभाव राख्दछन् । जुनियर व्यक्ति लाई आफूभन्दा माथि जानै दिँदैनन् ।

रवि जी तपाइले देशभरिका  युवाहरूलाई  समेटेर नयाँ पार्टी खोल्नुहोस् ५० वर्ष नकटेका जोशिला कर्मठ, खुल्ला विचार भएका  राष्ट्रभक्त र  देशको मुहार फेर्न दिलोअज्यान दिन सक्ने  युवाहरूलाई समेट्नहोस् । उर्जाशील युवाहरू निर्विकल्प ती पार्टीमा विरक्तिएर लागि परेका छन्  । युवाको आवाज कुण्ठित पारिएको छ ।

युवालाई परेको बेला प्रयोग  गर्ने गरी बेकाम र बेनाम पारिएका छन् । जुनसुकै पार्टीमा साठी नाघेका वृद्धहरू आबद्ध छन् । जो जागर मरेका, दीर्घ रोगी ,पुरातनवादी चिन्तन, अपरिवर्तनीय  सोच,  भ्रष्ट आचरण ,प्रतिरोध र प्रतिशोधात्मक  शैली र निकृष्ट मानसिकताका पुलिन्दा हुन् ।  एउटै व्यक्ति शक्तिको आडमा ५/५ पटक प्रधानमन्त्री हुन्छ देशले कोल्टे फेर्दैन। दशकौंदेखि एकै जना मन्त्री या सांसद बनेका हुन्छन् विकास र समुन्नतिको जनतालाई आभास हुँदैन ।

अवसर जति वृद्ध नेताको वरिपरि घुम्छ । प्रगतिशील युवाहरू नेतृत्व पाउँदैनन्। पढाईमा दखल राख्ने लोक सेवा तिर छन् जेनतेन विद्यालय शिक्षा पास गर्ने खाडीतिर छन् । विद्यार्थी नेता हुँ भन्ने किताबै नछोई जाँच पास गर्नेहरू वृद्ध नेताका अघिपछि छन् । राज्यको ढुकुटी दुहुनु भैँसी जस्तै छ । मनमर्जिले बजेट छुट्याइन्छ ।

भर्पाई दादै मिलाउँदै खाँदैको विधि अपनाइएको छ । फुट्न फुटाउन र लुट्न अनि लुटाउनको लागि मात्रै राजनीति भइरहेको छ । सक्षम व्यक्ति शक्ति र नेतृत्वमा जान पाएको छैन । मात्र बिचौलियाहरू र चाकरीवालाहरूको बिगबिगी छ । तसर्थ स्वतन्त्र विचार राख्ने शक्ति नेपालमा आवश्यक छ ।

प्रधानमन्त्री जनताले चुन्न पाउने व्यवस्था आवश्यक छ । नेपालका ७७ वटै जिल्लाबाट ७७ जना प्रधानमन्त्रीका उम्मेदवार उठाउने र देशभरबाट जसको पक्षमा बढी मत आउँछ सोही व्यक्ति प्रधानमन्त्री हुने व्यवस्था मिलाउन जरुरी छ नत्र भने कहिले गठबन्धन त कहिले ठगबन्धनको नाममा आलोपालो गरी देश लाई अस्थिरता तर्फ धकेली राख्ने प्रपञ्च भई नै रहन्छ । राष्ट्रपति र अन्य मन्त्री चुन्ने व्यवस्था पनि सोही बमोजिमको हुनुपर्दछ ।

(लेखक दलित अधिकारकर्मी तथा सहयात्रा फाउण्डेशनका अध्यक्ष हुन् ।)