तीन इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने


नेपालभूमि, काठमाडौं ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक तीन इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने निर्णय गरेको छ । कारबाही पर्नेमा वेबसर्फर नेपाल कम्युनिकेसन, एयरलिंक कम्युनिकेशन सर्भिस प्रोभाइडर र नेपाल डिजिटल सर्भिस प्रालि रहेका छन् ।

यी तीन कम्पनी एक आपसमा मुछिँदा कारबाहीमा परेका हुन् । यसअघि प्राधिकरणले एयरलिंकले अनुमतिपत्रका सर्त बमोजिम कार्य गरेरनगरेको विषय स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।

अनुगमनको क्रममा कम्पनीले अनुमतिपत्रका विभिन्न सर्तहरू उलंघन गरेको पाइएको थियो । साथै सो कम्पनीले इन्टरनेट सेवा सञ्चालनका लागि वेबसर्फरबाट सीडीएन (लोकल ब्याण्डविथ) खरिद गर्ने सम्झौता गरेको देखिएको थियो । त्यस्तै नेपाल डिजिटल सर्भिससँग अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथ खरिदका लागि सम्झौता गरेको थियो ।

लोकल ब्याण्डविथ र अन्तर्राष्ट्रिय ब्याण्डविथ फरक-फरक कम्पनीबाट खरिद गरेको भएपनि वेबसर्फरले नेपाल डिजिटल सर्भिसमार्फत अन्तर्राष्ट्रिय ब्याण्डविथ लिएर आफ्नै बिलमा एयरलिंक प्रालिसँग भुक्तानी लिएको पाइएको छ ।

यसरी सम्झौता फरक कम्पनीसँग गर्ने र बिलिङ एउटै कम्पनीबाट भएको पाइएकाले एयरलिंकलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ ९२० बमोजिम र वेबसर्फर र नेपाल डिजिटल सर्भिसलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ ९१० बमोजिम किन कारबाही नगर्ने भन्दै तीन वर्षअघि स्पष्टीकरण सोधेको थियो ।

कम्पनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्राधिकरणले यतिबेला आएर जरिबानासहित कारबाही गर्ने निर्णय गरेको हो । जसमा एयरलिंकलाई दूरसञ्चार ऐन, २०५३ दफा ४७ ९२० बमोजिम ५० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरिएको छ ।

त्यस्तै वेबसर्फर नेपाल र नेपाल डिजिटल सर्भिस दुवैलाई २०५३ दफा ४७ ९१० बमोजिम ५० हजारका दरले जरिबाना गर्ने निर्णय प्राधिकरण बोर्डले गरेको छ ।