राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै, माघ पहिलो साता चुनाव गर्न सिफारिस


काठमाडौंं।

निर्वाचन आयोगले राष्ट्रिय सभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुनमा रिक्त हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको भेटमा आयोगले यस्तो सिफारिस गरेको हो ।

संविधानको धारा ८६(३) र राष्ट्रिय सभा नियमावली–२०७५ को नियम २०८ को व्यवस्थाअनुसार फागुनदेखि २० राष्ट्रिय सभा सदस्यको पदावधि सकिने भएपछि आयोगले निर्वाचनको मिति सिफारिस गरेको हो ।

निर्वाचन आयोगले प्रदेशका १८ र प्रतिनिधिसभाका ४ सांसदको पनि पद रिक्त रहेकाले ती पदमा उपनिर्वाचन गर्नुपर्नेमा जोड दिएको छ । आयोगका अनुसार एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, कांग्रेसका ३ र मनोनित एक सदस्यको पदावधि फागुन २० मा सकिँदै छ ।

विसं २०७४ फागुनमा राष्ट्रिय सभाको पहिलो निर्वाचन भएको थियो । त्यस बेला ६० जनामध्ये गोला तानेर कार्यकाल तय भएको थियो । पहिलो एक तिहाइ सदस्य २ वर्षे कार्यकाल सकेर बिदा भइसकेका छन् । दोस्रो एक तिहाइ अर्थात् २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा आगामी फागुनबाट सकिँदै छ ।

राष्ट्रिय सभामा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना भने ६ वर्षे पूर्ण कार्यकाल पूरा गर्नेमा पर्दछन् । कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सदस्यहरुमा एमालेका परशुराम मेघी गुरुङ, कोमल वली, सुमनराज प्याकुरेल, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई रहेका छन् ।

त्यसै गरी, माओवादी केन्द्रबाट दीनानाथ शर्मा, शशिकला दाहाल, जीवन बुढा र खिमकुमार विक रहेका छन् । नेकपा एकीकृत समाजवादीका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारीको पदावधि पनि आगामी फागुनमा सकिँदै छ ।

त्यस्तै, नेपाली कांग्रेसका राधेश्याम अधिकारी, दीर्घनारायण पाण्डे र तारादेवी भट्टको पदावधि सकिँदै छ भने मनोनित रामनारायण बिडारीको पनि कार्यकाल सकिँदै छ ।