भारतमा जिप दुर्घटना, दुई नेपालीसहित पाँचको मृत्यु


एजेन्सी । भारत पिथौरागढ जिल्ला थलभुवानी नजिकै बुधबार भएको जिप दुर्घटना परी बैतडीको पाटन नगरपालिका–६ का ४८ वर्षीय मदनमोहन जोशी र खिमाली गाउँका ३९ वर्षीय दीपक अवस्थीको मृत्यु भएको छ । उक्त दुर्घटनामा भारतीय सेनाका रिटार्यड ब्रिगेडियर व्निोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंह रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पीएच ०१ एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भीरबाट खसेर दुर्घटना भएको हो ।

गाडी रिटार्यड ब्रिगेडियर चन्द आफैं चलाएको बताइएको छ । उहाँको गाउँ बुगामा कूलपूजा भएकाले पूजाभन्दा अगाडि चन्दका कूल पुजारी बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्ण प्रयाग लानुभएको बताइएको छ ।

स्नान गरेर कूलपूजाका लागि फर्किंदै गर्दा जिप दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । चन्द राति अनिँदो रहेको र गाडी चलाउँदा निद्रा लागेपछि दुर्घटना भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।