प्रहरीको रासन भत्ता वृद्धि हुँदै, दुर्गममा कार्यरतले १५ हजार पाउने


काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन भत्ता वृद्धि हुने भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्न भएको हो । आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाडले रासन भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गरेका गृह मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गृह मन्त्रालयले गरेको हो । बजेटमा व्यवस्था गरिएअनुसार कार्यान्वयनमा लगिने छ ।

मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन १ गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउने छन् । सरकारले जिल्लाको दररेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम निर्धारण गर्दै आएको छ ।

नेपाल प्रहरीको सङ्ख्या ७३ हजार छ भने सशस्त्र प्रहरीको सङ्ख्या करिब ३५ हजार रहेको छ । एउटा सिपाहीले कम्तीमा चार हजार रुपियाँदेखि बढीमा १२ हजार रुपियाँसम्म रासन भत्ता पाउँदै आएका छन् । अब १५ प्रतिशत थप हुनेछ । काठमाडौँमा कम्तीमा चार हजार रासन भत्ता छ भने दुर्गम तथा हिमाली जिल्लाहरूमा बढीमा १५ हजार रुपियाँसम्म रासन भत्ता दिइन्छ ।