बाढी पहिरो पीडितको साथमा सरकार छः मन्त्री आले


कात्तिक ४ डोटी ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम बहादुर आलेले बाढी–पहिरामा ज्यान गुमाएका, घरबारविहीन भएका नागरिकलाई सरकारी निकायबाट राहतसहित आर्थिक सहयोग प्रदान गर्ने निर्णय बताउनुभएको छ । उहाँले सरकारले बाढी पहिरो पीडितका परिवारलाई राहतको घोषणा गरिसकेको बताउदै विपद्को समयमा सरकार पीडितको साथमा रहेको बताउनुभएको हो ।

मन्त्री आलेले भन्नुभयो,‘बाढी–पहिरो पीडित नागरिकको साथमा सरकार छ, पीडित भएका नागरिकको समस्या समाधान गनृ सरकार प्रतिबद्ध छ ।’ उहाँले बाढी पहिराले अवरुद्ध भएका राजमार्ग तथा ग्रामीण क्षेत्रका सडक सञ्चालनका लागि सम्बन्धित मन्त्रालयमार्फत निर्देशन भइसकेकाले तत्काल काममा खटिन कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

डोटीमा मात्रै बाढी पहिराका कारण १४ जनाको ज्यान गइसकेको तथा एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो । सोही क्रममा प्रजिअ विष्टले जिल्लामा बाढी पहिराले १३ जना घाइते, ३५ चौपाया मृत्यु, २५ घाइते तथा २० चौपाया बेपत्ता, घरधुरी ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको विवरण पेश गर्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा आज मन्त्री आलेसहितका नेताहरु बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । प्रधामन्त्रीको टोली भोली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।