मुख्यमन्त्री राउतले पाए विश्वासको मत, दुई तिहाइको समर्थन


काठमाडौं ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री राउतले दुई तिहाइ बहुमत प्राप्त गरेका हुन् । मुख्यमन्त्री राउतको पक्षमा ७७ मत खसेको छ भने विपक्षमा २३ मत खसेको छ । हाल प्रदेश २ मा १०४ मत कायम छ ।

संसदमा विश्वासको मत लिँदै गर्दा मुख्यमन्त्री राउतमाथि प्रतिपक्षी दलले चर्को विरोध गरेका छन् । केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विषयलाई लिएर चर्को विरोध भएको हो । उनीहरुले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।